माओवादीमा विवाद बढिरहेको बेलामा जनार्दन शर्माले पार्टी पुनर्संरचना गर्न विशेष महाधिवेशनको माग गरे

माओवादीमा विवाद बढिरहेको बेलामा जनार्दन शर्माले पार्टी पुनर्संरचना गर्न विशेष महाधिवेशनको माग गरे

काठमाडौं : माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशन मार्फत पार्टीको पुनर्गठन गर्न माग गरेका छन्। पार्टीभित्र पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बढिरहेको दुरीकाबीच उनले मंगलबार सामाजिक सञ्जालमा लेख्दै दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गरेका छन्।

पछिल्लो  समय जनार्दन र पार्टी अध्यक्ष प्रचण्डबीच वैचारिक दुरी बढिरहेको छ। यसले अहिले पार्टीभित्र समेत गुटगत राजनीति मौलाएको छ। वर्षमान पुनले यो विवादमा प्रचण्डलाई सार्वजनिक रूपमा साथ दिएका छन्। अन्य नेताहरू मौन देखिन्छन्।

मंगलबार जनार्दनले गत वर्ष सबै प्रदेशहरूमा भएको परामर्श बैठक पश्चात् केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णय अनुसार असारदेखि प्रारम्भ गरेर ६ महिना भित्र अर्थात् मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको भन्दै अब पार्टीमा एजेन्डा केन्द्रित बहस गर्न र पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न  माग गरेका छन्।

पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बुँदे सहमति पश्चात् गिरेको पार्टीको साखलाई पुन माथि उठाउन गम्भीर आत्मसमिक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुन, सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर सङ्कटबाट गुज्रिरहेकाले यसको समाधान संविधान संशोधन, अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन नै रहेको उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

 

'अर्थतन्त्रको पुनर्संरचना, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्छ,' उनले लेखेका छन् 'यसले सङ्कटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ। आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्दछ।'

देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका विषयहरूप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने तथा संविधान संशोधनले, शासकीय स्वरूप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना लगायतका एजेन्डाहरूबाट राष्ट्रलाई एकताबद्ध गर्ने उनले लेखेका छन्।

'विशेष महाधिवेशनले पार्टी भित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्यौलता, साङ्गठनिक अराजकता, विधि विहीनता, सहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्नेछ' उनले लेखेका छन्।

साउन १३, २०८२ मंगलबार १९:५३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।