मधेस प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध बलात्कारको मुद्दा दर्ता, डेरामा बलात्कार गरेको पीडितको दाबी, पैसा असुल्न गलत आरोप लगाएको अहिराजको तर्क

काठमाडौं : मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराजमाथि सातदेखि १० वर्षको कैद सजायको मागदावी गर्दै बलात्कारको मुद्दा दर्ता भएको छ। मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा उनले बलात्कार गरेको दाबीसहित साथदेखि १० वर्षसम्मको कैदको मागदावी सहित अभियोग पत्र दायर गरेको हो।
अभियोग पत्रमा महिला तथा बालबालिका तथा जेष्ठ सेवा केन्द्रबाट अनुसन्धान, जाहेरी दर्खास्त, घटनास्थलको मुचुल्का, राजेश अहिराज भन्ने राजेश झाको बयान, जाहेरकर्ताले वेश गरेको फोटो, ह्वाट्सएप कल लग, सिसिटिभी फुटेजको विवरण, पीडितको स्वास्थ्य परिक्षण लगायतका प्रमाणको आधारमा बलात्कार भएको दाबी गरिएको छ।
अभियोग पत्रमा २०८१ जेठ २४ मा परिवारको सन्देश ल्याएको बहानामा पीडितको डेरामा आएर जवर्जस्ती ढोकाको चुकुल लगाएर धम्क्याएर बलात्कार गरेको दाबी गरिएको छ।
जाहेरीसँगै २३ वर्षकी पीडितले घटनाबारे कहिकतै भनेमा भाईको अपहरण गर्ने भन्दै ह्वाट्सएपमा दिएको धम्की प्रमाणको रुपमा पेश गरेको देखिन्छ। पीडितको जाहेरीमा उल्लेख भए अनुसार नजिकको नातेदारबाट अहिराजसँग परिचय भएको थियो। अहिराज पीडितको घरमा आउजाउ गर्ने गर्थे।
परिचय भएको डेढ वर्षपछि अध्ययनको सिलसिलामा पीडित काठमाडौँ आएपछि अहिराज डेरामा आउन थालेको जाहेरीमा उल्लेख छ। परिवारसँग समेत परिचित ब्यक्ती भएकाले डेरामा नआउन भन्न नसकेको तर उनले कुनियत राखेर कोठामा एक्लै बसेको बेलामा जरुरी कुरा गर्नु छ, परिवारबाट सन्देश ल्याएको बहानामा डेरामा आएर जवर्जस्ती चुकुल लगाएर बलात्कार गरेको दाबी गरिएको छ।
‘मैले पानी दिए लगत्तै उठेर ढोकाको चुकुल लगाउनु भयो। मैले किन चुकुल लगाउनु भएको भन्दा सिधा आइ मेरो मुख थुनी, मलाई बिस्तरामा पछार्नु भयो,’ जाहेरीमा लेखिएको छ ‘हल्ला गर्ने, चिच्याउने काम गरेमा तेरो बेइज्जत हुन्छ म त छोरा मान्छे, मलाई केही हुन्न धम्की दिएर अस्मिता लुटियो।’
अहिराजले बयानमा ६ वर्ष अगाडि पीडितको आमासँग चिनजान भएको र पछि पीडितसँग चिनजान भएको बताएका छन्। पीडित युवती पाइलट पढ्न विदेश जान खोजेको र त्यो बेलामा आफूले सहयोग गर्ने बताए पनि उनी असफल भएपछि पैसा नदिएकाले आफूलाई धम्क्याउने गरेको अहिराजको दाबी छ।
बयानमा उनले पीडित युवतीसँग विभिन्न रेष्टुरेन्टमा खाना खान गएको तर सँगै भाइ भएको तर पटक-पटक आफूलाई झुटा मुद्दा लगाएर फसाइदिने भनेर धम्क्याएपछि तीन लाख दिएको दाबी गरेका छन्।
उनले घटनाको दिन आफू काठमाडौँमा रहे पनि उनको डेरामा नगएको र पटक पटक धम्क्याएर पैसा मागेपछि प्रहरीमा जाहेरी दिएको बयानमा दाबी गरेका छन्।
साउन १३, २०८२ मंगलबार १८:५८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।