दिल्लीमा बसेको नेपाल-भारत सीमा कार्यदलको बैठक सकियो, सीमा स्तम्भहरूको निरीक्षणमा नयाँ प्रविधि अपनाउने सहमति

काठमाडौं : नेपाल-भारत सीमा कार्यदलको सातौं बैठक मंगलबार नयाँ दिल्लीमा सम्पन्न भएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए।
बैठकले अगस्ट २०१९ मा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयनको समीक्षाका साथै सोही वर्षको सेप्टेम्बरमा सोही स्थानमा २०१९ मा आयोजित ११ औँ नापी विभागका अधिकारी सम्मिलित समिति बैठकको कार्य प्रगतिको समीक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको निरीक्षण र मर्मत सम्भारसँग सम्बन्धित संयन्त्रका कामलाई अझ प्रभावकारी बनाउन सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ।
बैठक सहमतिपत्रमा हस्ताक्षरसँगै समापन भएको छ। दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आगामी महिना नेपालमा र सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने मितिमा नेपालमा गर्ने सहमति जनाएका मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन् २०१४ मा गठन भएको संयुक्त निकाय हो। यसलाई सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना र मर्मत र अन्य प्राविधिक कार्यहरू गर्ने कार्यादेश छ।
साउन १३, २०८२ मंगलबार १८:१८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।