जितुले फिल्मको कथा फेर्न खोजेपछि निर्देशकसँग लफडा, ‘कार्की साइँला’ नबन्ने संकेत

काठमाडौं : राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने भनिएको फिल्म ‘कार्की साइँला’ निर्माण हुने-नहुने भन्नेमा अन्योल बढेको छ। फिल्मका मुख्य अभिनेता जितु नेपाल र निर्देशक राजेन्द्र बस्नेतबीच कथाको विषयलाई लिएर चर्किएको विवादका कारण फिल्म नबन्ने संकेत देखिएको हो।
यसका निर्माता बालकुमार राईले जितुलाई राखेर निर्देशक हटाउने चलखेल गरिरहेको चर्चा छ। निर्देशक बस्नेतले यसबारे आफूलाई औपचारिक जानकारी नभएको तर बाहिर यस्तै हल्ला चलिरहेको बताए। ‘बाहिर हल्ला त्यस्तै छ। निर्माता र जितु नेपालबीच लामो समयदेखि भेटघाट भएको छैन। त्यसबारे मलाई जानकारी छैन।’
यसका निर्माता राई हाल भारतमा छन्। उनी भारतमै भएकाले फिल्मको भविष्यबारे स्पष्ट जानकारी छैन।
फिल्मको कथामा अभिनेता नेपालले कमेडी घुसाउन र मोडिफाइ गर्न चाहेकोप्रति निर्देशक बस्नेत असन्तुष्ट भएका थिए। त्यसपछि निर्माता राईले निर्देशक फेर्ने विषयमा सोच्न थालेको चर्चा छ।
गत वैशाख ८ गते कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभसाइत गरिएको यो फिल्म वैशाख २० गतेदेखि धनकुटामा छायांकन सुरु गर्ने भनिएको थियो। सोही अनुसार अभिनेता जितु नेपाल, अभिनेत्री वर्षा शिवाकोटी, निर्माता र अन्य केही सदस्यहरू धनकुटा पुगेका थिए।
जितुले लोकेसन हेरेर मात्र फिल्ममा काम गर्ने सहमति गरेका थिए। त्यसैअनुसार टोली धरान र धनकुटा पुगेको थियो। अभिनेत्री वर्षाले भेडेटारको भ्यु टावरको तस्बिरसमेत सामाजिक सञ्जालमा सेयर गरेकी थिइन्। प्राविधिक पक्ष काठमाडौंबाट धनकुटा जान तयारी अवस्थामा रहेको बेला निर्देशक, निर्माता र कलाकारबीच कुरा नमिलेपछि सुटिङ रोकिएको थियो। यो विवाद दुई महिनापछि मात्र बाहिर आएको हो।
निर्देशक बस्नेतले स्क्रिप्ट पटक–पटक फेरिएको जानकारी दिए। ‘पहिला हामी ऐतिहासिक कथामा आधारित स्क्रिप्टमा थियौँ,’ उनले भने, ‘पछि कमेडी बेसमा गएपछि अझै छायांकन सुरु भएको छैन। अहिले किन सुटिङ रोकिएको हो भन्ने प्रोड्युसर र जितु दाइलाई थाहा होला। म त कलाकार र प्राविधिकबीचमै छु।’
फिल्मका सुरुवाती स्क्रिप्ट लेखक अजित लामिछाने हुन्। उनले आफूले लेखेको स्क्रिप्ट पूर्णरूपमा फेरिएको र पारिश्रमिकसमेत नपाएको बताएका छन्। ‘कार्की साइँला सुरुमा मैले लेखेको स्क्रिप्ट थियो,’ उनले भने, ‘जितु सरले भने, यो त सञ्जय लीला भन्सालीको शैलीको फिल्म भयो, ओस्कार जाने खालको। यस्तो फिल्म त अहिलेका क्यामेराम्यान वा निर्देशकले गर्न सक्दैनन्, निश्चल बस्नेत वा तुलसी घिमिरेजस्तो निर्देशक चाहिन्छ भने। त्यसपछि उहाँले काम गर्न नसक्ने भन्नुभयो।’
उनले आफूले लेखेको स्क्रिप्टको २ लाख रुपैयाँ पारिश्रमिकसमेत नपाएको बताए। ‘मैले लेखेको पात्र एकदम गाह्रो छ,’ उनले भने, ‘म यो क्यारेक्टर क्यारी गर्न सक्दिनँ। कमेडी गरिराखेको मान्छेले यस्तो गम्भीर क्यारेक्टर गर्न सक्दैन। बिग्रियो भने के गर्ने भन्ने डर भयो। म डराए भनेपछि यो कुरा फेरि कस कसलाई लेख्न लगाउनु भएछ। उहाँकै टिमको मान्छे भन्ने बुझेको छु। अरु थाहा छैन।’
अर्का लेखक शंकर धिताल र सविन अधिकारी हुन्। शंकरले भने- ‘अजित लामिछानेले लेख्नुभएको कथामा परिमार्जन गरेको होइन। तर नयाँ कथा पुरै पटकथा सहित हामीले लेखका हौं।’
यता अभिनेता जितु नेपालले पनि स्क्रिप्ट आफू अनुकूल नभएको स्वीकार गर्दै थोरै परिवर्तनसहित कमेडी फ्लेबर थप्ने सुझाव दिएको बताए।
‘थोरै कमेडी फ्लेबर राखौँ, कमेडियन कलाकार राखेपछि दर्शकलाई मनोरञ्जन पनि होस् भन्ने चाहना थियो,’ उनले भने, ‘रुनाधुना मात्रै, आर्ट मुभी जस्तो होइन, सिनेमामा अलिक कमेडी र सेन्टिमेन्ट मिसाएर मनोरञ्जन दिनुपर्छ भन्ने भावनाबाट मैले त्यो कुरा उठाएको हुँ। मैले स्क्रिप्टमा हस्तक्षेप गरेको होइन।’
उनका अनुसार सुटिङ सुरु गर्ने भनेर लाग्दा वर्षा छिटो सुरू भयो। धरान–चतराबाट हिँड्ने दृश्य तयार पारिएको थियो तर बाढीका कारण त्यो लोकेसन असहज भएपछि सुटिङ पछि सारिएको हो।
फिल्ममा निर्देशक बस्ने वा हट्ने र जितु नेपाल रहने वा नरहने भन्ने विषय निर्माता राईको हातमा छ। अभिनेत्री वर्षा शिवाकोटीबाहेक अरु कलाकार फेरिने चर्चा छ।
फिल्म घोषणाका क्रममा ‘कर्णबहादुर फिल्मस् प्रालि’को ब्यानरमा निर्माण हुने भनिएको यस फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन्।
निर्माता बालकुमार राई, द्वन्द्व निर्देशक राजु किराँती, संगीत बाबुल गिरी, नृत्य निर्देशक कमल राई, गीतकार तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम र स्क्रिप्ट लेखक अजित लामिछाने थिए। तर हाल लेखकसमेत फेरिने चर्चा छ।
फिल्ममा वर्षा र जितु नेपालसँगै गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङसमेत थिए। ग्रामीण जीवनको कथा भन्ने भनिएको यो फिल्ममा विवाद बढेपछि निर्देशक बस्नेतले केही दिनअघि अर्को फिल्म ‘किस्ने कहाँ छ’ निर्माणको घोषणा गरिसकेका छन्। यसले ‘कार्की साइँला’ निर्माणमा झनै अन्योलता थपिएको छ।
साउन १३, २०८२ मंगलबार १६:५४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।