सेयर बजार चार वर्षकै उच्च विन्दुमा, परिसूचक तीन हजार पार गर्दा कारोबार रकम भने घट्यो

काठमाडौं : मंगलबारको कारोबारमा नेप्से परिसूचक ३०.७६ अंक बढेर तीन हजार विन्दुमा पुगेको छ। यो चार वर्ष यताकै सबैभन्दा उच्च विन्दु हो।
२०७८ भदौ १३ गते नेप्से ३०४४.८७ विन्दुमा पुगेर बन्द भएपछि यहाँबाट उकालो लाग्न सकेन। त्यसपछि निरन्तर ओरालो लागेको नेप्से पछिल्लो समय उकालो लाग्दै मंगलबार ३००२.०७ विन्दुमा पुग्यो।
मंगलबारको बजारमा सेन्सेटिभ इन्डेक्स ३.६६ अंक बढ्यो भने फ्लोट इन्डेक्स १.९७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१२ अंक बढ्यो।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेर १८ अर्ब ५२ करोडमा आयो। सोमबार १९ अर्ब ३६ करोडको सेयर खरिदबिक्री भएको थियो।
मंगलबार ३ सय २१ स्टकको १ लाख ५७ हजार ५२५ पटकको कारोबारमा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँ बराबरको ४ करोड १८ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भयो।
मंगलबारको कारोबारमा मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भि इनर्जी र नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल वेयरहाउजिङ्ग कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढ्यो भने माइ खोला हाइड्रोपावर र ग्रिन भेन्चर्सको सेयर मूल्य ७ प्रतिशतभन्दा बढी बढ्यो।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ८.६० प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रह्यो। कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। ग्रिन भेन्चर्सको करिब ६४ करोडको शेयर किनबेच भयो। नेपाल पुनर्बीमा कम्पनीको करिब ५७ करोडको शेयर खरिदबिक्री भयो।
केले बढायो बजार ?
१३ उपसमूहमध्ये मंगलबार ११ उपसमूहको परिसूचक बढ्यो। ३ उपसमूहको परिसूचक घट्यो।
अन्य उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत बढ्यो। बैंकिङ्ग, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढ्यो। विकास बैंक, वित्त उपसमूह र व्यापार उपसमूहको परिसूचक सामान्य घट्यो।
साउन १३, २०८२ मंगलबार १६:२९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।