बागमती कांग्रेस संसदीय दलमा मुख्यमन्त्री लामा पराजित, बानियाँलाई बाटो खुल्यो

बागमती कांग्रेस संसदीय दलमा मुख्यमन्त्री लामा पराजित, बानियाँलाई बाटो खुल्यो

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वासको मत गुमाएका छन्। मंगलबार संसदीय दलमा उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको हो।

प्रदेशसभामा कांग्रेसका कुल ३७ सांसदमध्ये लामाको पक्षमा १५ मत मात्रै पर्यो भने उनको विपक्षमा अर्थात् अविश्वास प्रस्तावको पक्षमा २२ मत खस्यो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्यवेक्षक राजन केसीको उपस्थितिमा भएको मतदानपछि लामा संसदीय दलको नेताबाट पदमुक्त भएका छन्।

लामाविरुद्ध प्रदेश सभा सदस्य तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। अविश्वास प्रस्ताव पारित भएसँगै अब बानियाँलाई संसदीय दलको नेता र मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

संसदीय दलमा बहुमत गुमाएसँगै मुख्यमन्त्री लामालाई पदबाट राजीनामा दिएर नयाँ बन्ने दलको नेता बानियाँका लागि सरकारको नेतृत्व हस्तान्तरण गर्न दबाब बढेको छ।

साउन १३, २०८२ मंगलबार १३:४०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।