६६ लागे सञ्जय दत्त : ३०८ अफेयर अनि तीन विवाह, खलनायकको भूमिकाबाट बलिउडमा इन्ट्री

६६ लागे सञ्जय दत्त : ३०८ अफेयर अनि तीन विवाह, खलनायकको भूमिकाबाट बलिउडमा इन्ट्री

एजेन्सी : २९ जुलाई १९५९ मा बलिउडका दिग्गज कलाकार सुनील दत्त र नरगिसको घरमा जन्मेका सञ्जय दत्तले आफ्नो दमदार अभिनयले विश्वभरका दर्शकको मन जितेका छन्।

बाल कलाकारको रूपमा बुबाकै ब्यानरमा बनेको फिल्म ‘रेश्मा और शेरा’ बाट करियर सुरू गरेका सञ्जयले जीवनका अनेकौं उतारचढावका बावजुद बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।

नाम, काम, प्रेम र विवाद- सञ्जय दत्तको जीवनका यी सबै महत्वपूर्ण पाटा हुन्। आज उनको जन्मदिनको अवसरमा हामी उनको जीवनको एक विशेष पाटो- प्रेम जीवनलाई नजिकबाट नियाल्नेछौँ।

कुनै समय उनका प्रेम सम्बन्धका चर्चाहरूले बलिउड तातेको थियो। भनिन्छ, उनका ३०८ भन्दा बढी युवतीसँग प्रेम सम्बन्ध थियो।

टीना मुनीम, माधुरी दीक्षितदेखि रेखाजस्ता दिग्गज अभिनेत्रीहरूसँग उनको नाम जोडियो। यहाँसम्म कि, उनले रेखासँग गोप्य रूपमा विवाह गरेको र रेखाले लगाउने सिन्दूर सञ्जयकै नामको हो भन्ने हल्ला पनि चल्यो।

यो हल्ला त्यतिबेला सुरू भयो, जब रेखा र सञ्जय दत्त फिल्म ‘जमीन आसमान’ मा सँगै काम गरिरहेका थिए। फिल्मको सुटिङका क्रममा उनीहरू नजिकिएको बताइन्छ। मिडिया रिपोर्टहरूमा त उनीहरूले मन्दिरमा गोप्य रूपमा विवाह गरेको र हप्तौंसम्म घरबाट गायब भएको दाबीसमेत गरिएको थियो।

जब यो कुरा सञ्जयका बुबा सुनील दत्तले थाहा पाए, उनी निकै रिसाए। उनले सञ्जयलाई खोजेर उनको विवाह ऋचा शर्मासँग गराइदिए।

हल्लाको वास्तविकता
केही वर्षअघि लेखक यासिर उस्मानको किताब ‘रेखा: द अनटोल्ड स्टोरी’ लाई उद्धृत गर्दै यो खबर भाइरल भएको थियो। तर, पछि लेखक उस्मान आफैँले यसको खण्डन गरे।

उनले भने, ‘मेरो किताबमा यो हल्लाको खण्डन गरिएको छ, पुष्टि होइन। किताबमा स्पष्ट लेखिएको छ कि सन् १९८४ मा रेखा र सञ्जयको विवाहको हल्ला चलेको थियो, जुन केवल उनीहरूको फिल्म ‘जमीन आसमान’ लाई फाइदा पुर्याउन फैलाइएको थियो। सञ्जयले पछि आधिकारिक रूपमै यसको खण्डन गरेका थिए।’

रह्यो कुरा रेखाको सिन्दूरको, उनले ऋषि कपूर र नीतु सिंहको विवाहमा सिन्दूर लगाएर पुग्दा सबै चकित परेका थिए। पछि सोध्दा रेखाले आफू आएको ठाउँमा सिन्दूर लगाउनु फेसन मानिने बताएकी थिइन्।

सञ्जय दत्तका तीन विवाह
सञ्जय दत्तले सन् १९८७ मा अभिनेत्री ऋचा शर्मासँग विवाह गरे। उनीहरूकी एक छोरी त्रिशाला दत्त छिन्, जो हाल न्यूयोर्कमा बस्छिन्। विवाहको केही समयपछि ऋचालाई क्यान्सर भयो। लामो उपचारपछि पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन र सन् १९९६ डिसेम्बर १० मा ३२ वर्षको उमेरमा उनको निधन भयो।

ऋचाको निधनपछि सञ्जयको जीवनमा मोडल रिया पिल्लई आइन्। मुम्बई बम विष्फोट काण्डमा सञ्जय जेल पर्दा रियाले उनको निकै साथ दिइन्। यही कुराले सञ्जयको मन जित्यो र जेलबाट छुटेपछि सन् १९९८ मा उनीहरूले विवाह गरे।

तर, विवाहपछि सञ्जय फिल्ममा व्यस्त हुन थाले र रियालाई समय दिन सकेनन्। दुवैको बीचमा दूरी बढ्दै गयो र सन् २००८ मा उनीहरूको सम्बन्धविच्छेद भयो। सम्बन्धविच्छेद हुँदा सञ्जयले रियालाई मुम्बईको बान्द्रामा दुईवटा फ्ल्याट र आफ्ना दुई कम्पनीको शेयरसमेत दिएका थिए।

रियासँगको सम्बन्धविच्छेदपछि सञ्जयले सन् २००८ फेब्रुअरी ७ मा मान्यतासँग विवाह गरे। मान्यताको वास्तविक नाम दिलनवाज शेख हो। उनले प्रकाश झाको फिल्म ‘गंगाजल’ मा आइटम डान्स गरेकी थिइन्।

विवाहपछि उनले अभिनय छोडिन् र हाल उनी ‘सञ्जय दत्त प्रोडक्सन’ की सीईओ हुन्। सन् २०१० मा उनीहरू जुम्ल्याहा सन्तान (छोरा शाहरान र छोरी इकरा) का अभिभावक बने। सुरुमा सञ्जयका दिदीबहिनीले मान्यतालाई स्वीकार नगरे पनि अहिले उनीहरूको सम्बन्ध सुमधुर छ।

अन्य चर्चित प्रेम सम्बन्ध
राजकुमार हिरानीले बनाएको बायोपिक फिल्म ‘सञ्जु’ मा सञ्जयका ३०८ प्रेम सम्बन्ध रहेको देखाइएको थियो। सञ्जयले आफैँ पनि एक अन्तर्वार्तामा आफूले एकैपटक तीन जना महिलालाई डेट गरेको स्वीकारेका थिए।

टीना मुनीम र सञ्जय बाल्यकालका साथी थिए। ८० को दशकमा उनीहरूको प्रेम सम्बन्ध निकै चर्चित थियो।

पछि फिल्म ‘साजन’ को सुटिङका क्रममा सञ्जय र माधुरी दीक्षित नजिकिएका थिए। त्यतिबेला सञ्जयकी पत्नी ऋचा क्यान्सरको उपचारका लागि अमेरिकामा थिइन्। तर, जब मुम्बई बम विष्फोट काण्डमा सञ्जयको नाम आयो, माधुरीले उनीसँग दूरी बनाइन् र उनीहरूको सम्बन्ध टुट्यो।

जीवनमा अनेकौं आँधीबेहरीको सामना गरे पनि सञ्जय दत्तले आफ्नो अभिनय कौशलले दर्शकको मनमा ‘नायक’ र ‘खलनायक’ दुवै रूपमा राज गरेका छन्। उनको संवाद बोल्ने शैली र दमदार व्यक्तित्वले उनलाई बलिउडको एक अविस्मरणीय अभिनेता बनाएको छ।

साउन १३, २०८२ मंगलबार १३:२४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।