‘कर्णालीमा बालिकाले बच्चा जन्माउन नसकेर डोकोमै ज्यान गुमाएको देखेको छु, त्यस्तै पीडा फिल्ममा देखाउँछु’

‘कर्णालीमा बालिकाले बच्चा जन्माउन नसकेर डोकोमै ज्यान गुमाएको देखेको छु, त्यस्तै पीडा फिल्ममा देखाउँछु’
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘सिटामोल’ प्रदर्शनको संघारमा छ। यही साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको प्रचारप्रसारमा मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल दौडधुपमा छन्।

बेनिशाको अर्को फिल्म ‘मोहर’ पनि सोही दिन रिलिज हुने भएकाले उनी दुवै फिल्मको प्रचारमा व्यस्त छिन्। तर, ‘सिटामोल’का निर्देशक साने भने प्रचारमा गुमनाम जस्तै छन्। ‘पाँच हजारको लगानीबाट फिल्म सिटामोल निर्माण भयो,’ भनेर दुखेसो पोख्ने साने कर्णालीका कथालाई पर्दामा उतार्न सक्ने क्षमतावान सर्जक हुन्।

जुम्लामा जन्मेका उनी त्यहीँको माटोको कथालाई पर्दामा भन्न चाहन्छन्। ‘वृन्दावन’, ‘वीराङ्गना’, ‘पाठशाला’, ‘लाटी’, ‘डोली’, ‘सिल्ली फो’ हुँदै ‘सिटामोल’सम्म आइपुग्दा सानेका केही फिल्मले राम्रो सफलता पाएका छन्। गत वर्ष प्रदर्शनमा आएका ‘जुना’ होस् वा ‘बुलाकी’, दुवै फिल्मले उनलाई चर्चामा ल्याए।

फिल्म ‘जुना’मा उनले बालविवाहका कारण सानै उमेरमा आमा बन्न खोज्दा ज्यान गुमाउने किशोरीको कथा उठाएका थिए, जुन उनले आफ्नै आँखाले देखेको घटना थियो।

त्यस्तै, ‘जारी’ प्रथामा आधारित फिल्म ‘बुलाकी’ पनि कर्णालीको यथार्थ घटनामा आधारित रहेको उनी बताउँछन्। फिल्मकै लागि डेढ दशकदेखि काठमाडौंमा संघर्ष गरिरहेका उनै लेखक तथा निर्देशक राजबहादुर सानेसँग उकेराकर्मी भोला अधिकारीले गरेको कुराकानीको सम्पादित अंश:

अहिले केमा व्यस्त हुनुहुन्छ?
अहिले फिल्म ‘सिटामोल’कै काममा व्यस्त छु। यही साउन २३ गतेबाट फिल्म प्रदर्शन हुँदैछ, त्यसैको दौडधुप चलिरहेको छ।

तर प्रचारमा तपाईं खासै देखिनुभएको छैन नि?
कुरा के हुँदो रहेछ भने, कसलाई अगाडि सार्ने भन्ने कुरा सुरूबाटै तय हुने रहेछ। म समग्र प्रेस मिटहरूमा सहभागी भएकै छु। तपाईंहरू जस्ता मिडियाले आवश्यक ठान्नुभयो भने म उपस्थित भइहाल्छु।

सायद, कतिपय च्यानल र मिडियासम्म पुग्न मेरो क्षमताले भ्याएन कि! वा उहाँहरूले मलाई आवश्यक नठानेर नबोलाउनुभएको पनि हुन सक्छ। अर्को कुरा, सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल हुनुहुन्छ। त्यसैले उहाँहरूलाई नै अगाडि सार्ने हाम्रो नीति हो र मिडियाले पनि उहाँहरूलाई नै बढी प्राथमिकता दिइरहेको छ।

फिल्मको शीर्षक ‘सिटामोल’ नै किन? यसको अर्थ के हो?
सिटामोल तपाईंले बुझेजस्तै एउटा औषधिको नाम हो। हामीले यो नाम किन राख्यौँ भने यो एक प्रतीकात्मक नाम हो। हाम्रो देश नै बिरामी छ। यहाँका मानिसहरू शारीरिक रूपमा मात्र होइन, आर्थिक, सामाजिक, शैक्षिक हरेक हिसाबले बिरामी छन्।

देशको यही परिस्थितिलाई निको पार्न एउटा ‘सिटामोल’ आवश्यक छ भन्ने सन्देश फिल्मले दिन खोजेको छ। ‘सिटामोल’ यही समाजको बिम्ब हो।

फिल्मको पोस्टर र टिजर हेर्दा द्वन्द्वकालीन घटनासँग सम्बन्धित हो कि जस्तो देखिन्छ नि?
यस विषयमा अहिले धेरै नखोलौँ। साउन २३ गते हलमै फिल्म हेरेपछि सबै कुरा थाहा भइहाल्छ। अब धेरै दिन बाँकी पनि छैन। यो कुन कालखण्ड र परिवेशको कथा हो, त्यो पर्दामा नै हेर्दा राम्रो हुन्छ।

तपाईंले लेखेका ‘बुलाकी’, ‘जुना’ जस्ता फिल्महरू कर्णालीकै कथामा केन्द्रित थिए। ‘सिटामोल’ पनि त्यस्तै हो?
म कर्णालीको जुम्लामा जन्मेको, त्यहीँको परिवेशमा हुर्केको र पढेलेखेको मान्छे हुँ। मेरो जीवन नै त्यहीँ बितेको हुनाले मैले त्यहाँभन्दा बाहिरको कुरा देख्न र कल्पना गर्न पनि सक्दिनँ। हाम्रो सिकाइ नै के हो भने, जे देखिन्छ, जे भोगिन्छ, त्यसैलाई कथामा उतार।

काठमाडौंको कोठामा बसेर ‘कर्णाली यस्तो होला’ भनेर कल्पना गर्ने र त्यहीँको यथार्थ भोगेको मान्छेले लेख्ने कथामा फरक पर्छ। डोल्पा, मुगु, बझाङ, बाजुरा जस्ता पश्चिमका जिल्लाहरू अझै पनि विकट छन्, जहाँ दर्दनाक कथाहरू लुकेर बसेका छन्। ती कथासम्म हामीजस्ता मान्छे मात्र पुगेका छौँ।

तपाईंले ‘बुलाकी’ को कथा आफैँले भोगेको भन्नुभयो, कस्तो घटना थियो त्यो?
‘बुलाकी’ को कथा ‘जारी’ प्रथामा आधारित छ। अर्काकी श्रीमती भगाएपछि ‘जार’ जतिसुकै कमजोर भए पनि डराउनुपर्थ्यो। मानिलिउ, मैले तपाईंको श्रीमती भगाएँ भने म भाग्नुपर्छ र तपाईंले मलाई जे गरे पनि मैले सहनुपर्छ।

हिजो कर्णालीका गाउँहरूमा यो चलन थियो र अहिले पनि छ। तपाईंले मलाई खुकुरीले काटे पनि कानुन लाग्दैनथ्यो, किनभने मैले तपाईंको ‘जोई’ लगेको छु। जबसम्म ‘जारी’ (क्षतिपूर्ति) तिरिँदैन, तबसम्म सुख पाइँदैनथ्यो।

म आफैँ दुई-तीन पटक यस्तो ‘जारी’ तिराउन गएको छु। श्रीमती भागेर गएदेखि ‘जारी’ नतिरुन्जेलसम्मको कथा नै ‘बुलाकी’ हो। त्यो घटनामा म आफैँ सहभागी भएकाले लेख्न सजिलो भयो र त्यही फिल्मबाट राष्ट्रिय अवार्ड पनि पाएँ।

‘जुना’ को कथा पनि कर्णालीकै यथार्थ हो?
हो, ‘जुना’ पनि कर्णालीकै कथा हो। त्यहाँ सानै उमेरमा विवाह गर्ने चलन अहिले पनि छ। कस्तो भने, तपाईंको छोरा र मेरो छोरी जन्मिए भने उनीहरूको बोली नफुट्दै ‘तेरो छोरी मेरो छोरालाई है’ भनेर माग्ने चलन थियो।

ती बच्चाहरूलाई आफ्नो हुनेवाला श्रीमान् वा श्रीमती कस्तो हुन्छ भन्ने थाहा हुँदैनथ्यो। मैले देखेको एउटा वास्तविक घटनामा  बालिकाले बच्चा जन्माउन नसकेर डोकोमै मरेकी थिइन्। मैले ‘जुना’ मा त्यही कथा देखाउन खोजेको थिएँ।

ती घटना सम्झँदा केही याद आउँछ?
मलाई अहिले पनि ‘जुना’ फिल्म अझै राम्रो बन्न सक्थ्यो भन्ने लाग्छ। सुत्केरी व्यथा लागेकी महिलालाई अस्पताल लगेर उपचार गर्दागर्दै मृत्यु भएको र मर्दै गर्दा उसले ‘बाल अधिकार सबैको सरोकार, छोराछोरी दुवै बराबर’ भन्ने सन्देश दिने गरी कथा लेखेको थिएँ। तर फिल्ममा त्यसलाई अर्कै तरिकाले देखाइयो।

सुत्केरी हुँदा वा महिनावारी हुँदा देउता नचल्ने चलन छ नि, तर निर्देशकले सुत्केरी व्यथा लागेकी महिलालाई देउताकहाँ लगेर कथालाई मोडिदिनुभयो।

आज देशका लागि केही गर्छु भन्ने मान्छेहरूलाई समाजमा सम्मान छैन, उनीहरू स्थापित हुन सकेका छैनन्। राज्य भने राम्रो भयो भनेर ढ्याङ्ग्रो ठोकिरहेको छ, तर जनता खान नपाएर मरिरहेका छन्। यो समस्याको औषधि के हो भनेर देखाउन ‘सिटामोल’ बनाएका हौँ। यसलाई हामीले बिम्बको रूपमा प्रयोग गर्न खोजेका छौँ।

तपाईं कर्णालीकै कथामा फिल्म बनाउनुपर्छ भनेर काठमाडौं आउनुभएको हो?
हो, म काठमाडौं आएकै यही उद्देश्यले हो। सुरूमा म सडक नाटक लेख्ने, निर्देशन गर्ने र अभिनय गर्ने गर्थेँ। मैले मानव अधिकार, एचआईभी/एड्स, बालअधिकार, जलवायु परिवर्तन जस्ता लगभग सबै सामाजिक विषयमा काम गरिसकेको छु।

म ग्राउन्ड लेभलबाट आएको मान्छे हुँ। हाम्रो परिवार पनि बिहान काम गरेर साँझको छाक टार्ने परिवार थियो। पछि एउटा संस्थाले मलाई ५ लाख रुपैयाँ दिएर भारतको लखनउमा निर्देशन पढ्न पठायो। त्यहाँ ४५ दिन बसेर मैले स्क्रिप्ट लेखन र निर्देशन सिकेको हुँ।

साउन १३, २०८२ मंगलबार १२:५९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।