बागमती प्रदेशका खानेपानी मन्त्री श्याम बहादुर खड्काले दिए राजीनामा

बागमती प्रदेशका खानेपानी मन्त्री श्याम बहादुर खड्काले दिए राजीनामा

हेटौंडा : बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्काले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज मुख्यमन्त्री समक्ष आफ्नो राजीनामा पत्र बुझाउँदै पद त्यागको घोषणा गरेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा मन्त्री खड्काले ‘विविध कारणले आफ्नो जिम्मेवारी निरन्तर बहन गर्नसक्ने अवस्था नरहेकोले’ आजकै मितिदेखि लागू हुने गरी पदबाट हटेको उल्लेख गरेका छन्।

यद्यपि बागमती प्रदेशमा भइरहेको कांग्रेसभित्रको किचलो मुख्य कारण रहेको कुरा कसैबाट लुकेको भने  छैन। मन्त्री खड्काको राजीनामासँगै कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका नेता इन्द्र बानियाँ संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो समेत खुलेको छ।

संसदीय दलको नेता फेर्नका लागि प्रदेश सभापति बानियाँ पछिल्लो समय लबिइङ बढाइरहेका छन्। उनको पक्षमा १९ जना सांसद छन्। खड्काले राजीनामा दिएसँगै लामाविरूद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदकाे संख्या २२ पुगेकाे छ।

बागमती प्रदेशकाे का‌ंग्रेस संसदीय दलमा ३८ जना सांसद छन्। जसमध्ये संसदीय दलको नेता फेर्नका लागि २० जनाको मत काफी हुन्छ।

साउन १३, २०८२ मंगलबार ११:२६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।