प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको न्यूयोर्कमा गोलीकाण्डका अभियुक्तको तस्बिर सार्वजनिक

एजेन्सी : अमेरिकाको न्यूयोर्क शहरमा भएको एक गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको छ। घटनामा कूल पाँच जनालाई गोली लागेको थियो।
न्यूयोर्कका मेयर एरिक एडम्सले घटनाको पुष्टि गर्दै मृतकमा न्यूयोर्क प्रहरीका एक अधिकारी पनि रहेको जानकारी दिएका छन्।
यसअघि मेयर एडम्सले एक भिडियो सन्देश जारी गर्दै घटनामा 'धेरै व्यक्ति' घाइते भएको बताएका थिए।
उनले भनेका थिए, ‘जो भवनभित्र छन्, उनीहरू भित्रै बसून्। प्रहरीले भवनको प्रत्येक तलामा खोजी गरिरहेको छ।’
उता, सीबीएस न्युजले कानुन प्रवर्तन निकायका दुई स्रोतलाई उद्धृत गर्दै घटनामा एक प्रहरी अधिकारीको मृत्यु भएको जनाएको छ।
सीबीएसको रिपोर्टअनुसार, ड्युटीमा नरहेका तर भवनमा सुरक्षागार्डको रूपमा काम गरिरहेका न्यूयोर्क प्रहरीका दुई अधिकारी र अन्य दुई सर्वसाधारणलाई गोली लागेको थियो। मारिनेमा एक प्रहरी अधिकारी छन् भने घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ।
न्यूयोर्क प्रहरी स्रोतले अमेरिकी सञ्चारमाध्यमलाई बताएअनुसार, आक्रमणकारीको पहिचान शेन डी टमुराको रूपमा भएको छ। यद्यपि, प्रहरीले यसको आधिकारिक पुष्टि गरिसकेको छैन। सीबीएस न्युज र अन्य सञ्चारमाध्यमले पनि आक्रमणकारीको पहिचान यही नामबाट गरेका छन्।
रिपोर्टहरूका अनुसार, संदिग्ध बन्दुकधारीको तस्बिर सीसीटीभी क्यामेरामा कैद भएको छ।
साउन १३, २०८२ मंगलबार १०:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।