भान्सादेखि ओछ्यानसम्म सर्पको डर, तराईदेखि पहाडसम्म वार्षिक तीन हजार जनाको मृत्यु

भान्सादेखि ओछ्यानसम्म सर्पको डर, तराईदेखि पहाडसम्म वार्षिक तीन हजार जनाको मृत्यु

बुटवल :  कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ की झगरु पसवानीको काख यसै वर्ष रित्तियो। उनकी १४ महिने छोरी संगीता पासवानलाई असार ३२ गते सुतिरहेकै अवस्थामा सर्पले डस्यो।

सर्पले डसेपछि अचेत भएकी शिशुलाई तत्काल बहादुरगञ्ज अस्पताल लगियो, तर त्यहाँ उपचार सम्भव भएन। थप उपचारका लागि गोरुसिंगे सर्पदंश उपचार केन्द्र लैजाने क्रममा उनको बाटोमै मृत्यु भयो।

गोरुसिंगे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारी भन्छन्, ‘यदि समयमै सही ठाउँमा ल्याउन सकिएको भए सायद नानीलाई बचाउन सकिन्थ्यो।’

यस्तै, गत असार २७ गते कपिलवस्तु नगरपालिका-१ की ६० वर्षीया सुमित्रादेवी कान्दुको भान्सामा खाना पकाउँदै गर्दा सर्पले डसेर मृत्यु भयो। सर्पले टोकेको लामो समयसम्म थाहा नहुँदा र उपचार केन्द्रमा पुर्याउन ढिलाइ हुँदा उनको ज्यान गयो।

यी प्रतिनिधि घटना मात्र हुन्। सर्पको त्रास कति बढेको छ भन्ने कुरा तिलोत्तमा-५ प्रेमनगरको एक घटनाले पनि देखाउँछ। असार २२ गते डिलराम अर्याललाई भान्सा कोठामै सर्पले टोक्यो। भाग्यवश, तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार पाएर उनको ज्यान बच्यो।

तर, जब सर्प उद्धारकर्ता विशाल पाण्डे, खिमलाल पाण्डे र विश्वास पाण्डेको टोली उनको घर पुग्यो, उनीहरूले ५ दिनको अवधिमा २३ वटा विषालु 'कमन कोब्रा'का बच्चा उद्धार गरे। यसले घरभित्रै सर्पले कसरी बासस्थान बनाएको छ भन्ने डरलाग्दो चित्र प्रस्तुत गर्छ।

अन्धविश्वास र पूर्वाधारको अभाव
गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्र यस क्षेत्रको एक प्रमुख उपचार केन्द्र हो। केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार बैशाखदेखि भदौसम्म सर्पदंशका बिरामीको चाप अत्यधिक हुन्छ। तर, उपचारमा सबैभन्दा ठूलो बाधा अन्धविश्वास बनेको छ।

‘विषालु सर्पले टोकेपछि मानिसहरू तत्काल स्वास्थ्य संस्थामा नआएर झारफुक र घरेलु उपचारमा लाग्छन्,’ भण्डारी भन्छन्, ‘अवस्था जटिल भएपछि मात्रै उपचारका लागि ल्याउँछन्, जसका कारण धेरैको ज्यान जाने गरेको छ।’

उनका अनुसार झारफुक गर्ने, मुखले रगत चुस्ने वा टोकेको ठाउँमा चिरफार गर्नेजस्ता गलत अभ्यासले बिरामीको अवस्था झनै जटिल बन्छ। समयमै उपचार गरे २-३ भाइल एन्टि-स्नेक भेनमले निको हुने बिरामीलाई ढिलो ल्याउँदा ३० भाइलसम्म लगाउनुपर्ने र कतिपयको ज्यान बचाउन नसकिने उनको भनाइ छ।

गोरुसिङ्गेमा रहेको यो केन्द्रले कपिलवस्तुका साथै अर्घाखाँची, प्यूठान, दाङ र रुपन्देहीका बिरामीलाई समेत सेवा दिँदै आएको छ। आर्थिक वर्ष २०८०/८१ मा १ हजार ८४२ जनाले यहाँबाट उपचार सेवा लिएका थिए। यसमध्ये गम्भीर प्रकृतिका १२६ जना बिरामीमध्ये १ जनाको मात्रै मृत्यु हुनु र २७ जनालाई मात्र रिफर गरिनुले केन्द्रको प्रभावकारिता देखाउँछ।

तर, पूर्वाधारको अभाव यहाँको ठूलो चुनौती हो। नेपाली सेनाको प्राविधिक व्यवस्थापनमा सञ्चालित १५ बेडको यस केन्द्रमा आईसीयू र भेन्टिलेटर छैन।

‘आईसीयू र भेन्टिलेटर नहुँदा करेतजस्ता न्युरोटक्सिक विष भएका सर्पले डसेका करिब ५० प्रतिशत बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता छ’, भण्डारीले बताए।

तथ्यांकले देखाएको भयावह तस्वीर
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार प्रदेशमा एक वर्षको अवधिमा सर्पले डसेर २७ जनाको मृत्यु भएको छ भने २८९ जना घाइते भएका छन्। सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार यो केवल प्रहरीको रेकर्डमा आएको तथ्यांक हो, वास्तविक संख्या योभन्दा धेरै हुन सक्छ।

तथ्यांकअनुसार सबैभन्दा बढी कपिलवस्तुमा ७ जना, दाङमा ६ जना, बर्दियामा ५ जना, नवलपरासी पश्चिम र बाँकेमा ३-३ जना तथा पाल्पा, प्यूठान र रुपन्देहीमा १-१ जनाको मृत्यु भएको छ।

राष्ट्रिय स्तरमा यो समस्या झनै विकराल छ। सन् १९८७ को एक अध्ययनअनुसार नेपालमा प्रत्येक वर्ष २० हजार जनालाई सर्पले डस्ने र करिब १ हजारको मृत्यु हुने गरेको थियो। तर, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सन् २०२२ मा गरेको अध्ययनले यो संख्या बढेर वार्षिक ३० हजार जनालाई डस्ने र ३ हजार जनाको मृत्यु हुने देखाएको छ।

सर्पदंश विशेषज्ञ डा. छविलाल थापाका अनुसार अस्पतालको रेकर्डबाहिर हुने मृत्युलाई पनि जोड्ने हो भने वार्षिक करिब ३७ हजार जनालाई सर्पले डस्ने र ३,५०० भन्दा बढीको मृत्यु हुने अनुमान गर्न सकिन्छ।

बदलिँदो मौसम र पहाड उक्लँदो सर्पको त्रास
परम्परागत रूपमा तराईमा मात्र सर्पको बिगबिगी हुने मानिन्थ्यो। तर, पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण यो त्रास पहाडी जिल्लाहरूमा पनि फैलिएको छ। हिउँदमा दुलोभित्र बस्ने सर्पहरू बर्खामा पानी भरिएपछि बाहिर निस्कन्छन्। अहिले तापक्रम वृद्धिसँगै विषालु सर्पहरू पहाडतर्फ उक्लिरहेका छन्।

कावासोतीस्थित कालीगण्डकी सामुदायिक अस्पतालका सर्पदंश विशेषज्ञ डा. छविलाल थापा भन्छन्, ‘पहिले तराईका जिल्लामा बढी विषालु सर्प पाइन्थे, तर जलवायु परिवर्तनका कारण विषालु सर्प पहाडमा पनि देखिन थालेका छन्।’

उनका अनुसार हाल पहाडी क्षेत्रको चार हजार मिटर उचाइसम्म विषालु सर्प पाइएका छन्।

सबै सर्प विषालु हुँदैनन्
सर्प विज्ञ कमल देवकोटाका अनुसार नेपालमा पाइने करिब ८९ प्रजातिका सर्पमध्ये २१ प्रजाति मात्र विषालु छन्। जसमा गोमन, करेत, रसेल भाइपर र गनगुवाली प्रमुख हुन्।

‘सबै सर्प विषालु हुँदैनन् र सर्पले मानिसलाई आहारका लागि टोक्ने होइन,’ देवकोटा भन्छन्, ‘आफ्नो प्रतिरक्षाका लागि मात्र उसले डस्ने हो।’

विषालु सर्पले डस्दा पनि सधैँ विष छाडेको हुन्छ भन्ने छैन। तर, टोकेको ठाउँमा दुईवटा दाँतको गहिरो दाग देखिएमा, सुन्निने वा अत्यधिक दुख्ने भएमा त्यो विषालु सर्पको टोकाइ हुन सक्छ। यद्यपि, दागको प्रकृति विश्लेषणमा समय खेर फाल्नुभन्दा बिरामीलाई तत्काल एन्टि-स्नेक भेनम भएको स्वास्थ्य केन्द्रमा लैजानु नै बुद्धिमानी हुन्छ।

गोमन (कोब्रा) सर्पले एक पटक डस्दा १५० मिलिग्रामसम्म विष फाल्न सक्छ, जबकि एक वयस्क व्यक्तिको मृत्युका लागि २० मिलिग्राम विष नै पर्याप्त हुन्छ।

संरक्षणको द्विविधा र प्रणालीगत उपेक्षा
विश्वकै सबैभन्दा लामो विषालु सर्प ‘राज गोमन’नेपालमा पनि पाइन्छ, तर यो लोपोन्मुख अवस्थामा छ। औषधीय गुण भएको र सर्पको टोकाइको औषधि बनाउन सर्पकै विष चाहिने भएकाले सर्प संरक्षण महत्त्वपूर्ण छ।

‘राज गोमनले नेपालमा मानिसको मृत्यु गराएको तथ्यांक नगण्य छ,’ देवकोटा भन्छन्, ‘तर यसलाई देख्नासाथ मार्ने प्रवृत्तिले यो लोप हुने खतरामा छ।’

सर्प उद्धारकर्ता खिमलाल पाण्डे सर्प संरक्षणमा सरोकारवाला निकाय उदासीन रहेको बताउँछन्।

‘सर्प देख्नासाथ मार्नुपर्छ भन्ने सोच हाबी छ। स्थानीय तहहरूले पनि सर्प संरक्षण र सर्पदंश रोकथामबारे खासै कार्यक्रम गर्दैनन्’, उनी भन्छन्।

अन्य वन्यजन्तुको तुलनामा सर्पदंशबाट हुने मानवीय क्षति बढी भए पनि यसको रोकथाम र उपचारमा सरकारी लगानी र चासो अपर्याप्त देखिन्छ।

साउन १३, २०८२ मंगलबार ०९:११:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।