धामीले गाउँमा नबस्न भनेपछि हायू परिवारले छाडेको थियो सिन्धुली, यस्तो थियो प्रहरीको ‘सर्च अपरेशन’

धामीले गाउँमा नबस्न भनेपछि हायू परिवारले छाडेको थियो सिन्धुली, यस्तो थियो प्रहरीको ‘सर्च अपरेशन’

काठमाडौं : सिन्धुलीको गोलन्जोर गाउँपालिका-६, छेत्पास्थित आफ्नो एकान्त घरबाट रहस्यमय रूपमा सम्पर्कविहीन भएको उर्मिला हायूको १६ सदस्यीय परिवार पोखरामा सकुशल फेला परे।

सोमबार दिनभर राष्ट्रिय चर्चाको विषय भएको उनीहरूको बारेमा प्रहरीले समेत थप अनुसन्धान गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा केटाकेटीहरू निरन्तर बिरामी परिरहने र धामीले समेत थाकथलो छाड्न सल्लाह दिएपछि उनीहरूले गाउँ छाडेको खुलेको छ। 

सोमबार साँझ पोखरा महानगरपालिका-३०, गगनगौडामा हायू परिवारका सबै सदस्यलाई प्रहरीले फेला पारेको हो। उनीहरू त्यहाँका सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेको अवस्थामा भेटिएका थिए।

इलाका प्रहरी कार्यालय सिसुवाका प्रमुख श्रवण विकले भने, ‘उहाँहरू कोठा खोजेर बस्नुभएको रहेछ। घरमा केटाकेटी सधैँ बिरामी हुने र धामीले पनि नबस्न भनेकाले गाउँ छाडेको प्रारम्भिक जानकारी दिनुभएको छ।’

हाल उनीहरूलाई आफन्त र स्थानीय जनप्रतिनिधिको रोहबरमा सोही स्थानमा राखिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यस्तो थियो सोमबारको दौडधुप र अड्कलबाजी
साउन १२ गते उर्मिला हायूसहितको परिवार सम्पर्कविहीन भएको सूचना पाउनासाथ जिल्ला प्रशासन कार्यालय, सिन्धुली र जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय उच्च सतर्कताका साथ खोजीमा जुटेका थिए। परिवारको खोजीका लागि जङ्गल, सम्भावित दुर्घटना स्थल, माइती, आफन्त र नातागोता सबैतिर सम्पर्क गरी जानकारी लिइएको थियो।

परिवारका सदस्य हालै विदेशबाट आएको, सामाजिक सुरक्षाभत्ता पनि झिकेको र घरमा सुँगुरको मासुसमेत भेटिएकाले कसैको गलत दृष्टि परेको हो कि भन्ने कोणबाट पनि सुरक्षा विश्लेषण गरिएको थियो। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार, परिवारले खुसियालीमा रमाइलो गर्दै कतै घुमघाममा निस्केको हुनसक्ने अनुमान पनि गरिएको थियो।

खोजीका क्रममा प्रहरीले केही महत्त्वपूर्ण सूचनाहरू फेला पारेको थियो। प्रहरीले साउन ६ गते उनीहरूले खुर्कोटस्थित हिमालयन बैंकबाट सामाजिक सुरक्षा भत्ता झिकेको, ९ गते वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको, ९ गते नै साँझ ७:२८ बजे नेपाल टेलिकमको रामेछापस्थित टावरसँग मोबाइल सम्पर्क भएको तथ्य फेला पार्यो।

चालकको सूचनाले पुग्यो प्रहरी पोखरा
अनुसन्धान तीव्र भइरहँदा प्रहरीलाई एक महत्त्वपूर्ण सूचना प्राप्त भयो। स्थानीय बलेनीबाट गाडी रिजर्भ गरी हायू परिवार सिन्धुली, हेटौँडा, मुग्लिन हुँदै पोखरा पुगेको र उनीहरूलाई पोखराको जननी होटलमा छाडेको भन्ने सूचना सवारी चालकबाट प्राप्त भयो।

यही सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पोखरा प्रहरीलाई खबर गर्यो र सोही आधारमा प्रहरीले उनीहरूलाई फेला पार्न सफल भयो।

हायू परिवारले घर छाड्दा ६ वटा बाख्रा खोरमै बाँधेर र कुकुरलाई घरमै छाडेर गएका थिए। पशुचौपायालाई कसैको जिम्मा नलगाइ परिवार बाहिरिनुले घटनालाई थप गम्भीर बनाएको थियो। तर, उनीहरू कसैलाई जानकारी नदिई घुम्न निस्केको घटनाले पुष्टि गरेको छ।

यो घटनाले सञ्चारमाध्यममा पनि दिनभर ठूलो चर्चा पायो र विभिन्न अड्कलबाजीहरू गरिए। ५२ वर्षीया घरमुली उर्मिला हायूका श्रीमान् पनि केही वर्षअघि बेपत्ता भएकामा पछि जङ्गलमा भेटिएको अस्थिपञ्जरबाट उनको मृत्यु भएको अनुमान गरिएको थियो।

सम्पर्कविहीन परिवारका १६ सदस्यमध्ये ८ जना १६ वर्षमुनिका बालबालिका थिए। प्रहरीले परिवारका सबै सदस्यहरू- कमला, कोमल माया, उषा, सुजता, अस्मिता, राजु, हिमाल, लालबहादुर, वेगबहादुर, लक्ष्मण, सुवर्ण, ओमकुमारी, अर्जुन, रियासा र शान्ता हायू सकुशल रहेको पुष्टि गरेको छ।

साउन १३, २०८२ मंगलबार ०८:१५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।