चीनमा बाढीका कारण ३४ जनाको मृत्यु, राजधानी बेइजिङबाट ८० हजार मानिसलाई सुरक्षित स्थानमा सारियो

चीनमा बाढीका कारण ३४ जनाको मृत्यु, राजधानी बेइजिङबाट ८० हजार मानिसलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी : चीनको राजधानी बेइजिङ र वरपरका क्षेत्रमा भारी वर्षा र बाढीका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ।

सरकारी टिभी च्यानल सीसीटीभीका अनुसार बेइजिङको मियुन जिल्लामा २८ जना र याङ्किङ जिल्लामा २ जनाको मृत्यु भएको छ। यी दुवै क्षेत्र शहरको बाहिरी इलाकामा अवस्थित छन्।

बाढीका कारण बेइजिङबाट ८० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। तीमध्ये लगभग १७ हजार जना मियुन जिल्लाका छन्।

निरन्तर वर्षाका कारण बेइजिङका केही भागहरूमा मंगलबार बिहानसम्ममा ३० सेन्टिमिटरसम्म पानी पर्ने अनुमान गरिएको थियो।

बेइजिङसँगै जोडिएको हेबेई प्रान्तको लुआनपिङ काउन्टीमा सोमबार पहिरो गएको छ। चार जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता छन्। स्थानीयहरूले उक्त क्षेत्रमा नेटवर्क बिग्रिएको र सञ्चारमा कठिनाइ भएको बताएका छन्।

बेइजिङमा उच्च सतर्कता, विद्यालय र निर्माण कार्य बन्द
बेइजिङ प्रशासनले सोमबार राति ८ बजे उच्च स्तरीय आपतकालीन प्रतिक्रिया जारी गर्यो। यस अन्तर्गत सबै विद्यालयहरू बन्द गरिएको छ। निर्माण कार्य र बाहिरी गतिविधिहरूमा पनि प्रतिबन्ध लगाइएको छ।

चिनियाँ सरकारले हेबेई प्रान्तमा ५ करोड युआन आपतकालीन सहायता पठाएको छ। चेङ्दे, बाओडिङ र झाङजियाकोउ जस्ता प्रभावित शहरहरूमा राहत कार्य सञ्चालन गर्न केन्द्रीय टोलीहरू पनि पठाइएको छ।

यसअघि मियुन जिल्लाको एउटा प्रमुख जलाशयको पानीको स्तर सन् १९५९ मा निर्माण भएदेखिकै उच्चतम स्तरमा पुगेको थियो। यसपछि प्रशासनले यसबाट पानी छोड्ने निर्णय गर्यो। नदी किनारमा रहेका तल्लो क्षेत्रका मानिसहरूलाई सतर्क रहन निर्देशन दिइएको छ।

साउन १३, २०८२ मंगलबार ०७:४४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।