न्युयोर्कमा गोली चल्दा एक जनाको मृत्यु, आक्रमणकारी पनि मारिएको प्रहरीको दाबी

एजेन्सी : अमेरिकाको न्युयोर्क शहरमा भएको एक गोलीकाण्डमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। प्रहरीले आक्रमणकारी पनि मारिएको दाबी गरेको छ।
यो घटना न्युयोर्कको म्यानह्याटनस्थित एउटा भवनमा भएको हो। प्रहरीका अनुसार, आक्रमण गर्ने व्यक्ति एक्लै थिए।
सीबीएस न्युजका अनुसार, आक्रमणकारीले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए। यद्यपि, प्रहरीले उनको मृत्यु कसरी भयो भन्नेबारे आधिकारिक जानकारी दिएको छैन।
न्युयोर्कमा रहेकी बीबीसी संवाददाता इन्द्राणी बसुले भनिन्, ‘नजिकै रहेका मानिसहरूले ठूलो विस्फोटको आवाज सुनेका थिए। मैले एक व्यक्तिलाई हत्कडी लगाएर लगिँदै गरेको देखेँ र घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले एक जनालाई पक्राउ गरिएको र अर्का एकजना फरार रहेको पुष्टि गरे।’
यद्यपि यो पक्राउ सोही गोलीकाण्डसँग सम्बन्धित हो वा होइन भन्ने स्पष्ट भइसकेको छैन।
घटनापछि उक्त क्षेत्रका सबै रेल सेवाहरू बन्द गरिएका छन्। चोक वरपरका चारवटा ब्लक पनि सर्वसाधारणका लागि बन्द गरिएको छ।
साउन १३, २०८२ मंगलबार ०७:३६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।