नागको पूजा गरी आज नागपञ्चमी मनाइँदै

नागको पूजा गरी आज नागपञ्चमी मनाइँदै
फाइल तस्बिर

काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा-आराधना गरी घरको मूलढोकामा तस्बिर टाँसेर मनाइँदैछ।

धार्मिक विश्वासअनुसार, यसरी नागको तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प, बिच्छी जस्ता जीवको भय हुँदैन र अग्नि, चट्याङ जस्ता प्राकृतिक प्रकोपबाट पनि सुरक्षा मिल्छ।

वैदिक कालदेखि नै नागलाई सर्पको राजा र जलको देवताका रूपमा पूजा गर्ने चलन छ। नाग रिसाएमा पानीको अभाव हुने र घरको जगमुनि रहेका नागले घर भत्काउन सक्ने जनविश्वास छ।

भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्ने भएकाले नागलाई शिव र विष्णुको स्वरूपमा पनि पूजा गरिन्छ।

यो पर्वसँग विभिन्न किंवदन्तीहरू जोडिएका छन्।

एउटा प्रख्यात कथाअनुसार, एक किसानले भूलवश मारेका नागका बच्चाको बदला लिन आएकी नागिनीलाई किसानकी छोरीले पूजा-आराधना र दूध चढाएर प्रसन्न पारेकी थिइन्।

छोरीको भक्तिबाट प्रसन्न भएकी नागिनीले किसानको मृत परिवारलाई पुनर्जीवन दिएको दिन श्रावण शुक्ल पञ्चमी नै परेकाले यो परम्परा बसेको मानिन्छ।

आजको दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ कुलका नागको पूजा गरिन्छ।

काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा विशेष पूजा गरी दूध, अक्षता, दुबो, खीर र रोटीजस्ता परिकार चढाइन्छ।

वैज्ञानिक दृष्टिकोणले पनि सर्पले प्रकृतिमा भएका विषालु पदार्थलाई ग्रहण गरी वातावरणीय सन्तुलन कायम राख्ने भएकाले यसको महत्त्वलाई सम्मान गर्न नागपूजाको परम्परा बसेको मानिन्छ।

नागपञ्चमीसँगै हिन्दू धर्मावलम्बीहरूका चाडपर्वको याम पनि सुरू हुन्छ।

साउन १३, २०८२ मंगलबार ०७:०९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।