अस्पतालको ओपिडी बन्द गराएर वीर अस्पतालको भवनभित्र स्वास्थ्यमन्त्री पौडेलको सेवा सुधार्ने चर्को भाषण

काठमाडौं : मुख्य सडककै छेउमा अस्पताल भएकाले त्यहाँ ‘नो हर्न प्लिज’ को बोर्ड राखिएको छ। पहिला त खुल्ला मञ्चमा हुने कार्यक्रमले हैरान हुन्थे वीर अस्पतालका बिरामी। केही वर्षदेखि काठमाडौंमा हर्न बजाउन निषेध गरिएको छ। अनि खुल्ला मञ्च राजनीतिक कार्यक्रमका लागि खुल्ला छैन।
वीर अस्पतालका बिरामीले केही सुबिस्ता पाएको अस्पताल प्रशासनलाई नै पचेन। अनि हरेक वर्ष उसले अस्पतालको स्थापना दिवसको कार्यक्रम अस्पताल भवनको खाली ठाउँमा करिब तीन घण्टा हल्ला मच्चाउँछन्। अनि त्यो हल्लामा स्वास्थ्यमन्त्री नै सहभागी हुन्छन्।
तीन वर्ष भइसक्यो सर्जिकल भवनको खुल्ला ठाउँमा कार्यक्रम गरेर अस्पताल प्रशासनले होहल्ला गराएको। सोमबार १ सय ३६ औँ वार्षिक उत्सव त्यसरी नै मनायो। वार्षिक उत्सव मनाउन भनेर अस्पताल प्रशासनले सोमबार ११ बजेपछि अस्पतालको सबै ओपिडी सेवा नै बन्द गरेर सर्जिकल भवनको भुइँतलाको बिचमा रहेको खुला भागमा मञ्च बनाएर स्पिकरसहित राखेर तीन घण्टा भाषण गरायो।
सोमबार अस्पताल परिसर भवनभित्रको हो-हल्ला कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुने भनिएको थियो। सुरक्षा व्यवस्था त्यही अनुसार मिलाइएको थियो। तर धन्न प्रधानमन्त्री आएनन्। स्वास्थ्यमन्त्री प्रदीप पौडेलको विशेष आतिथ्यमा अस्पताल परिसरको संवेदनशीलता नहेरी कार्यक्रम गरियो।
उकेराकर्मी सोमबार दिउँसो एक बजेर ४० मिनेटमा वीर अस्पतालको पुरानो (मुख्य) भवन पुग्दा सम्पूर्ण ओपिडी बन्द थिए। सधैँ भिडभाड हुने ओपिडी कक्षका ढोकाहरूमा ताल्चा झुन्डिएका थिए। ओपिडी अगाडि स्वास्थ्य जाँचका लागि पालो कुरेर बस्ने सबै कुर्सीहरू खाली थिए।
अस्पतालको पुरानो भवनको भुइँतलामा रहेको सिटी स्क्यान कक्षमा भने भीड थियो। त्यहाँ सिटी स्क्यान भइरहेको थियो।
अस्पताल प्रशासनले सूचना नै सोमबारको ओपिडी टिकट निःशुल्क हुने उल्लेख गरेको थियो। तर त्यसैमा ११ बजेपछि अस्पतालको ओपिडी बन्द हुने उल्लेख थियो। ११ बजेपछि बिरामी नै नजाँचेपछि निःशुल्क टिकटको अर्थ के! उपचारका लागि अस्पतालमा पुगेका बिरामीहरू त्यही सूचना हेर्दै फर्किरहेका थिए।
अन्य दिनमा सामान्यतः औसत २५ सय ओपिडी टिकट काटिने गरेकोमा सोमबार करिब १३ सयले ओपिडी टिकट काटेका थिए। सोमबार ओपिडी बाहेकको सेवा भने दिए पनि अधिकांश चिकित्सक त्यही औपचारिक कार्यक्रममा देखिन्थे। अस्पताल प्रशासनका अनुसार अप्रेसनहरू भने रोकिएनन् सोमबार। तर, उकेराकर्मी एक बजेर ४५ मिनेटमा वीर अस्पताल पुग्दा प्रशासन समेत बन्द थियो। निर्देशक डा दिलीप शर्माको कोठामै ताल्चा लागिसकेको थियो।
वीर अस्पतालको सर्जिकल भवनको छैटौँ तलामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यालय राखिएको छ। पाँचौँ तलामा अप्रेसन कक्ष छन्। अन्य तलाहरूमा आइसियु र वार्डहरू छन्। त्यसले नै जहाँ स्पिकर जडान गरेर तीन घण्टा भाषणबाजी गरियो त्यो स्थान कति महत्त्वपूर्ण हो भन्ने देखाउँछ।
भुइँतलामा एक्स–रे, अल्ट्रासाउन्ड (यूएसजी), फार्मेसी लगायतका सेवा दिने कोठाहरू छन्। एक्स–रेको रिपोर्ट लिने, सर्जिकल भवनमा सेवा लिनका लागि रकम भुक्तानी गर्ने बैङ्क काउन्टर लगायतका सेवा भुईँ तलामा नै छन्। सोमबारको कार्यक्रमले सर्जिकल भवनको भुईँ तलामा हुने सबै सेवा प्रभावित भए।
त्यहीँ भुइँतलामा वीर अस्पताल नेतृत्वले वार्षिक उत्सव स्थल बनायो। स्वास्थ्य मन्त्री पौडेल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्र बस्नेत, वीर अस्पतालका निर्देशक डा. शर्मा लगायतले माइकको चर्को आवाजमा वीर अस्पताल सुधार्ने भाषण गरे।
अघिल्लो वर्षको एक सय ३५औँ वार्षिक कार्यक्रममा पनि स्वास्थ्य मन्त्री पौडेलले त्यही भुइँतलामा माइकको चर्को आवाजमा नै वीर अस्पताल सुधार्ने भाषण गरेका थिए। तर, वीरको हालत भने उस्तै छ।
हालका प्रतिष्ठानका उपकुलपति डा. बस्नेतले वीर सुधारिँदै गएको भाषण गरेको पनि धेरै भइसक्यो। हाल डा. शर्मा अस्पतालको निर्देशक छन्। उनले पनि वीर सुधार्ने दाबी गर्ने नै भए। सबैले चर्को स्वरमा चिकित्सकीय सेवा लिन आएकाहरूलाई घर फर्काएर सोमबार पनि वीर अस्पतालको सेवा सुधार्ने दाबी गरे। तर सेवा बिगार्ने प्रारम्भ स्थापना दिवसबाटै सुरु भयो।
सर्जिकल भवनमा शल्यक्रिया गरिएका वा शल्यक्रिया गर्ने बिरामीलाई ध्वनि प्रदूषणले पार्ने नकारात्मक प्रभावमा अस्पताल नेतृत्व संवेदनशील देखिएन। यस विषयमा न स्वास्थ्यमन्त्री नै संवेदनशील बने।
अस्पतालको सर्जिकल भवनको भुईँ तलामा भएको कार्यक्रमले बिरामीलाई ओहोरदोहोर गर्न समेत सास्ती भएको प्रस्टै देखिन्थ्यो। कोही बिरामी त्यही कार्यक्रमको भिडलाई छिचोल्दै ओहोरदोहोरको प्रयास गरिरहेका थिए। वीरको सेवा सुधार्ने मन्त्रीको भाषण सुन्दै कोही औषधि त कोही बिरामी लिएर त्यही भिड छिचोल्ने कोसिस गरिरहेका थिए।
सर्जिकल भवनको भुइँतलाको भित्रको खुला भागमा नै कार्यक्रम भएकाले भुइँतलाबाट त सेवा लिन सम्भव भएन नै। कार्यक्रम स्थलबाट सर्जिकल भवनको माथिल्ला तलाहरूमा जान समेत बन्द गरिएको थियो।
अस्पतालको रत्नपार्कतर्फको ढोकाबाट माथिल्लो तलामा चढ्न सकिने बाटो भने थिए। त्यहाँ पनि भिडभाडका कारण बिरामीले हिँड्नै सकिरहेका थिएनन्। तामझामका साथ अस्पतालले वार्षिकोत्सव मनाइरहँदा सिकिस्त भएका अक्सिजन सहितका बिरामीलाई पानीमा भिजाउँदै अस्पतालको पुरानो भवनबाट सर्जिकल भवनतर्फ ल्याएको दृश्य समेत देखिन्थ्यो।
अक्सिजनसहितका सिकिस्त बिरामीलाई ओहोरदोहोर गराउँदा पानीबाट बचाउने सामान्य ओत समेत थिएन। त्यही कार्यक्रम स्थलको भीड छिचोल्दै भित्र लान गाउन लगाएका चिकित्सकलाई समेत मुस्किल परेको दृश्य देखियो।
पुरानै होहल्लाको निरन्तरता
वीर अस्पतालको सर्जिकल भवनमा होहल्ला गरेर पहिलो पटक कार्यक्रम गरिएको हैन। अस्पतालले यस अघिका वर्षहरूमा समेत सर्जिकल भवनभित्रको त्यही भुईँ तलाको खुला भागमा होहल्लाकै बिच वार्षिकोत्सव कार्यक्रम मनाउँदै आएको छ।
तीन वर्ष अघि तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा प्रमुख अतिथिको रूपमा वीर अस्पतालको कार्यक्रममा पुगेका थिए। त्यो वर्ष सुरक्षाका लागि भन्दै शल्यक्रिया गरेका बिरामी हेर्न राउन्डमा जान लागेका चिकित्सकलाई समेत रोकिएको थियो।
दुई वर्ष अघिको एक सय ३४औँ वार्षिकोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाइएको थियो। तर, उनी गएनन्। त्यो बेला स्वास्थ्यमन्त्री मोह बस्नेत थिए। उनले होहल्ला गरेर नै वीर अस्पतालको सर्जिकल भवनको सोही भुइँतलामा भएको वार्षिक उत्सव कार्यक्रममा भाषण गरे।
गत वर्ष वीर अस्पतालको एक सय ३५औँ वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेल नै गएका थिए। अस्पताल भवनभित्र औपचारिक कार्यक्रम गरेको भनेर गत वर्ष आलोचना पनि भएको थियो। तर आलोचनाले मन्त्री पौडेललाई छोएन। यो वर्ष पनि उनै स्वास्थ्यमन्त्री पौडेल वीरको वार्षिकोत्सव कार्यक्रममा पुगे।
अस्पताल परिसर भित्र होहल्ला गर्न मिल्छ?
सामान्यतया: अस्पताल परिसरमा ठुलो स्वरमा होहल्ला गर्न मिल्दैन। अस्पताल प्राङ्गणमा ‘साइलेन्स’ बस्नुपर्ने हुन्छ। अस्पताल क्षेत्रमा सवारीसाधनहरूको हर्न बजाउन समेत निषेध गरिएको हुन्छ।
तर, बिरामीलाई सेवा दिने अस्पतालको सर्जिकल भवनमा यस अघिका वर्ष जस्तै यो वर्ष पनि माइकको ठूलो आवाजसहित कार्यक्रम भयो। यस्तो अवस्था सुधार गर्नुको सट्टा मन्त्री पौडेलले पनि अस्पताल भित्र त्यही होहल्लालाई नै निरन्तरता दिए। यस्तो गर्नु शोभनिय काम हो त ?
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल (अफिन) अध्यक्ष डा.पदमबहादुर खड्का अस्पतालमा होहल्ला हुने कार्यक्रम गर्न नहुने सुझाव दिन्छन्।
‘भिआइपी र भिभिआइपीहरू समेत सहभागी हुने अस्पतालका यस्ता कार्यक्रममा सुरक्षा लगायतको कारण देखाउँदै बिरामी र बिरामी लिएर अस्पताल पुगेका व्यक्तिले सास्ती बेहोर्नुपर्ने समस्या हुन्छ,’डा. खड्काले भने,’त्यसैले अस्पतालभित्र होहल्ला हुने कार्यक्रम गर्ने अभ्यास राम्रो हैन।’
यस्ता कार्यक्रम कि त सभा हल भित्र गर्नुपर्ने वा अस्पताल बाहिर नै गर्नु उचित हुने डा. खड्काको सुझाव छ।
जनस्वास्थ्य विद् डा. शरद वन्त यस्ता कार्यक्रम गर्ने स्थान चयन गर्दा बिरामी र अस्पताल पुगेका अन्य सेवाग्राहीलाई मर्का पर्छ की पर्दैन भन्ने मूल्याङ्कन गर्नुपर्ने सुझाव दिन्छन्। बाधा परेको छ भने अस्पतालले यस्ता कार्यक्रमको विकल्प हेर्नुपर्ने उनको सुझाव छ।
अघिल्लो वर्ष उकेरासँगको कुराकानीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले त्यसरी अस्पतालमा होहल्ला गरेर कार्यक्रम गर्न नहुने सुझाव दिएको थिए।
‘अर्कै ठाउँमा कार्यक्रम गर्नुपर्छ। बिरामीलाई दुःख दिनु हुँदैन,’उनले भनेका थिए,‘कार्यक्रम अस्पताल बाहिर गर्नुपर्छ।’
अस्पताल बाहिर कतै कार्यक्रम गरे बिरामीलाई पनि असुविधा नहुने अनि अस्पतालमा काम गर्ने कर्मचारीलाई पनि उत्साह हुने उनको तर्क थियो।
यस विषयमा सिनियर चिकित्सकहरूसँग कुराकानीका लागि सम्पर्क गर्दा अस्पतालभित्र यस्ता होहल्ला हुने किसिमका कार्यक्रम गर्नु त परै जाओस् नर्स, डाक्टर र बिरामीका आफन्त लगायतले समेत ठुलो स्वरमा कुरा गर्न नहुने सुझाव दिए।
साउन १२, २०८२ सोमबार २२:१८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।