अझै सम्पर्कमा छैनन् हायू परिवार

सिन्धुली : जङ्गलले घेरेको एकान्त डाँडामा एउटा घर छ- भित्र झ्याल ढोकाबाट हावा छिर्छ, बाहिर आँगन सुनसान छ। भाँडाकुँडा छरपस्ट, भान्साको खरले छाएको भाग जलेको। मासु गन्हाइरहेको छ, पालुवा जनावर कराइरहेका छन्। जहाँ १८ जनाको चहलपहल थियो, त्यही घर अहिले शून्य छ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६, छेत्पामा बस्दै आएको हायू परिवारै चार दिनदेखि सम्पर्कविहीन हुँदा गाउँ मात्रै होइन, जिल्ला नै चकित बनेको छ।
श्रीमान् बितेपछि ५२ वर्षीया उर्मिला हायूको भरमा घर चलिरहेको थियो। अहिले परिवारका सदस्य कसैको अत्तोपत्तो छैन। प्रहरीका अनुसार उर्मिलासँगै २७ वर्षीया छोरी कमला, २३ वर्षीया बुहारी कोमलमाया, २२ वर्षीया छोरी उषा, १९ वर्षीया सुजता, १८ वर्षीया अस्मिता, १२ वर्षीया शान्ता, छोरा राजु (२९), हिमाल (२४), लालबहादुर (१६), बेगबहादुर (१४), लक्की (११), सुवर्ण (१२), ओमकुमारी (१०), नाति अर्जुन (१) र नातिनी रियासा (४) पनि बेपत्ता छन्। अन्य दुईजनाको परिचय खुलेको छैन।
स्थानीय मोतीराज सापकोटाका अनुसार ढोका खुल्लै थिए, भान्साघर जलेको थियो तर अरु क्षति केही थिएन। जनावरहरू भोकभोकै थिए।
कुन दिनदेखि हराए भन्ने यकिन छैन। जंगलको बीच घर भएकाले देख्ने, थाहा पाउने कोही थिएन। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अनुसन्धान जारी रहेको बताए।
वडाध्यक्ष रवीन श्रेष्ठका अनुसार साउन ५ गते परिवारका १६ जनाले खुर्कोटमा रहेको हिमालयन बैंकबाट तीन महिनाको सामाजिक सुरक्षा भत्ता बुझेका थिए। लोपोन्मुख जाति भएकाले सरकारले प्रतिव्यक्ति मासिक रु तीन हजार ९९० का दरले भक्ता उपलब्ध गराउँदै आएको छ।
यसैगरी साउन ८ गते सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गरेको र साउन ९ गते घरमा दुई वटा सुँगुर काटेर खाएको बुझिन आएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए।
वडाध्यक्ष रवीन श्रेष्ठ प्रहरी टोलीसहित घटनास्थल पुगेपछि भने- 'घर हेर्दा कुनै जबर्जस्ती भएको जस्तो देखिन्न। सबै मिलेर योजना बनाएर गएकाजस्तो लाग्छ। तर कहाँ गएका? के उद्देश्यले? थाहा छैन।'
प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार उर्मिला हायूको मोबाइल अन्तिमपटक रामेछापमा सक्रिय देखिएको छ। त्यसपछि सम्पर्क नभएको र प्रहरीले जङ्गल, खोँच, आसपासका सम्भावित क्षेत्रहरूमा खोजी गरिरहेको जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले हायू परिवारबारे कुनै जानकारी पाए नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन सबैमा अपिल गरेको छ। कतिपय स्थानीयले भत्ता पाएपछि घुम्न गएका हुन् भन्ने अनुमानसमेत गरेका छन्।
हायू जाति नेपाल सरकारद्वारा लोपोन्मुख आदिवासी जनजातिमा सूचीकृत छ। २०७८ को जनगणनाअनुसार उनीहरूको जनसंख्या जम्मा ३ हजार ६९ मात्रै छ।
साउन १२, २०८२ सोमबार २१:५४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।