जापानमा 'नेपाल म्युजिक फेस्ट २०२५' हुँदै, स्वर, द एजर र कबवेबको प्रस्तुति

काठमाडौं : नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ साङ्गीतिक महोत्सव आयोजना हुने भएको छ।
आगामी अगस्त महिनामा टोकियो, ओसाका, फुकुओका र नागोया गरी जापानका चार प्रमुख सहरहरूमा भव्य कार्यक्रम गरिने आयोजकहरूले जानकारी दिएका छन्। फेस्टिभलको मुख्य नारा ‘नेपाली सङ्गीतलाई विश्वसँग जोड्ने’ रहेको छ।
कार्यक्रममा नेपालका चर्चित र लोकप्रिय संगीत समूहहरू स्वर, द एजर र कबवेब ले विशेष प्रस्तुति दिनेछन्। कार्यक्रममा स्वर ब्यान्ड ले ‘अपरिभाषित’, ‘बादल सारी’, ‘म मरे पनि’ जस्ता चर्चित गीतमार्फत परम्परागत नेपाली धुनलाई आधुनिक शैलीमा प्रस्तुत गर्दैछ।
द एजर ब्यान्ड ले आफ्नो २५औँ वार्षिकोत्सव को अवसर पारेर युवामाझ लोकप्रिय सामाजिक सन्देशमूलक गीतहरू प्रस्तुत गर्नेछ भने नेपाली रक संगीतमा नवीन प्रयोग ल्याएको कबवेब को उपस्थितिलाई कार्यक्रमको विशेष आकर्षण को रूपमा हेरिएको छ।
चार शहर, चार प्रस्तुति
फेस्टिभल अगस्त ३ मा टोकियोको बेलसाले ताकाडानोबाबा बाट सुरु हुनेछ त्यसपछि ओसाकाको नाम्बा ह्याच, फुकुओकाsJ जेप्प फुकुओका र नागोयाको डायमन्ड हलमा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा प्रवासी नेपाली मात्र नभई जापानी संगीतप्रेमीहरूलाई पनि लक्षित गरिएको आयोजकको भनाइ छ। फेस्टिभलको टिकट Meroticket मार्फत अनलाइन बिक्री हुनेछ। अर्ली बर्ड, स्ट्यान्डर्ड, फ्यानपिट र भिआइपी प्याकेज उपलब्ध रहनेछन्। टिकट बिक्रीमा डिजिटल प्रविधिको प्रयोग गरिएको छ।
साउन १२, २०८२ सोमबार २०:०६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।