मनसुनी वर्षाले किसानलाई राहत

मनसुनी वर्षाले किसानलाई राहत

काठमाडौं : आइतबारदेखि मुलुकका अधिकांश स्थानमा हल्का, मध्यमदेखि भारी वर्षा भइरहेको छ। यसबाट धान रोपाइँलाई आकाशे पानी कुरेर बसिरहेका किसानलाई केही राहत पुग्न सक्ने अपेक्षा गरिएको छ।

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत धान रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेका छन्। मनसुनमा राम्रो वर्षा हुन नसक्दा मधेस प्रदेशलगायत स्थानमा देखिएको सुक्खापनले यस वर्षको धान उत्पादनमा ह्रास आउन सक्ने भन्दै सरोकारवालाहरू चिन्तित छन्। यही बेला वर्षा सुरू भएसँगै हल्का भए पनि राहत मिल्न सक्ने भन्दै उनीहरूमा उत्साह देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेबिड ढकालले आइतबारदेखि मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको भन्दै यसले धान रोपाइँमा सहजता ल्याउन सक्ने बताए। ‘मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ’, उनले भने, ‘मधेसमा वर्षा कम हुँदा सुक्खा बढेको थियो। मधेसका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।’ 

महाशाखाका अनुसार आज कोशी प्रदेशका केही भूभागमा मध्यमदेखि भारी वर्षा र मधेस प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा र पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा र गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसमी विज्ञप्तिमा उल्लेख छ।

आज लुम्बिनी प्रदेशमा एक-दुई स्थानमा भारी वर्षा र अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

मधेस प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयका प्रवक्ता तथा सूचना अधिकारी सुदीप चौधरीले मधेस प्रदेशका कतै वर्षाले रोपाइँका लागि केही राहत दिए पनि कतै भने वर्षा हुन नसकेको कारण समस्या उस्तै रहेको जानकारी दिए।

धान रोपाइँका लागि मनसुन अनुकूल नहुँदा नेपालको पूर्वी तराईको क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ उल्लेखनीय रूपमा घटेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागका अनुसार मुलुकभर ७८ दशमलव ८४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गतवर्ष भने यही अवधिमा ९२ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो। गत वर्षको तुलनामा यस वर्ष १३ दशमलव ७६ प्रतिशत बिन्दु कम रोपाइँ भएको छ।

मुलुकभर १३ लाख ७८ हजार ९६६ दशमलव ९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेकोमा हालसम्म १० लाख ८७ हजार १४८ दशमलव ९५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो।

यही साउन ११ गतेसम्म गत वर्षको तुलनामा सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ। विभागका अनुसार गत वर्षको तुलनामा मधेश प्रदेशमा यस वर्ष ४० दशमलव १८ प्रतिशत बिन्दु कम रोपाइँ भएको छ। गतवर्ष यस अवधिमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा यस वर्ष ५१ दशमलव ८२ प्रतिशत रोपाइँ मात्र भएको हो। यस प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुनेमा हालसम्म एक लाख ९३ हजार ११६ दशमलव ११ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।

त्यसपछि सबैभन्दा कम रोपाइँ कोशी प्रदेशमा भएको छ । कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६ दशमलव ७३ हेक्टरमध्ये हालसम्म ८० दशमलव ३९ प्रतिशत अर्थात् दुई लाख २२ हजार १९२ दशमलव ५४ हेक्टरमा रोपाइँ भएको छ। प्रदेशमा गत वर्ष सोही अवधिमा ९० दशमलव ७ प्रतिशत रोपाइँ भएको थियो।

बागमती प्रदेशमा एक लाख १५ हजार ६२१ दशमलव २५ हेक्टरमध्ये हालसम्म १ लाख १ हजार ६०६ दशमलव ६ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ, जुन ८७ दशमलव १९ प्रतिशत हो। प्रदेशमा गत वर्ष सोही अवधिमा ९० दशमलव ८ प्रतिशत रोपाइँ भएको विभागको भनाइ छ।

गण्डकी प्रदेशमा ९४ हजार १८२ हेक्टरमध्ये हालसम्म ८४ दशमलव ५३ प्रतिशत अर्थात् ७९ हजार ९१३ दशमलव ६९ हेक्टर क्षेत्रमा रोपाइँ भइसकेको छ । प्रदेशमा गत वर्षको सोही अवधिमा ९१ दशमलव ९ प्रतिशत रोपाइँ भएको थियो।

लुम्बिनी प्रदेशमा हालसम्म ९२ दशमलव ०४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस प्रदेशमा तीन लाख दुई हजार ९३९ हेक्टरमा रोपाइँ हुने गर्छ। प्रदेशमा गत वर्षको यही समयसम्म ९१ दशमलव ३ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष गत वर्षको तुलनामा यस प्रदेशमा भने रोपाइँ बढेको छ।

कर्णाली प्रदेशमा ४१ हजार ४२ हेक्टरमध्ये हालसम्म ९१ दशमलव ३८ प्रतिशत अर्थात् ३७ हजार ५०५ दशमलव ७२ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो। प्रदेशमा गतवर्ष यो समयसम्म ९८ दशमलव ६ प्रतिशत रोपाइँ भएको थियो। विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा साउन ११ सम्म ९८ दशमलव ९४ प्रतिशत रोपाइँ पूरा भएको छ। प्रदेशमा एक लाख ७६ हजार १५१ हेक्टरमध्ये हालसम्म एक लाख ७४ हजार २८६ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो। प्रदेशमा गत वर्ष यही अवधिसम्म ९९ दशमलव ६ प्रतिशत रोपाइँ भएको थियो।

सातै प्रदेशमा धान रोपाइँको तथ्याङ्कलाई विश्लेषण गर्दा गत वर्षको तुलनामा लुम्बिनी प्रदेशबाहेक अन्य ६ प्रदेशमा कम रोपाइँ भएको छ।

साउन १२, २०८२ सोमबार १८:१६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।