साउन लागेसँगै आधाले घट्यो मासुको व्यापार

काठमाडौं : साउन सुरू भएसँगै मासुको व्यापार आधाले घटेको छ।
कलङ्कीमा २० वर्षदेखि मासु व्यवसाय गर्दै आएका सन्दीप महर्जन भन्छन्, ‘अन्य बेला दैनिक १५० वटा कुखुरा बेचिन्थ्यो, अहिले त ८० वटा पनि बिक्दैन। सोमबार त झन् झन् कम।’
महर्जन २० वर्षदेखि कुखुरा र खसी दुवैको मासु व्यापार गर्दै आएका छन्। उनका अनुसार अघिल्ला साउनमा पनि व्यापार घट्ने गर्थ्यो, तर यसपालि झनै सुस्ताएको छ।
‘साउन महिनालाई पवित्र महिनाजस्तो मानिन्छ, व्रत बस्नेहरू धेरै हुन्छन्। माछामासु खानै छाड्ने परिपाटी छ। त्यसैले पसल सुनसान देखिन्छ,’ उनी भन्छन्।
कलङ्कीमै रहेका अर्का व्यापारी देव रानाले पनि उस्तै गुनासो गरे। असारसम्म त उनले दैनिक ३० किलो मासु बेच्थे, अहिले १५ किलो कटाउन पनि हम्मेहम्मे पर्छ।
हाल राजधानीमा करिब तीन हजार मासु व्यवसायी छन्। सानाठूला गरेर पशुवधका लागि एक हजार हाराहारीमा वधस्थलहरू सञ्चालनमा छन्। राँगाभैंसीका मात्रै पनि २५० जति वधस्थल छन्।
साउन १२, २०८२ सोमबार १७:३३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।