परिवारका १८ जनाको सामाजिक सुरक्षा भत्ता बुझेर बेपत्ता भयो हायु परिवार, खोजी गर्दै प्रहरी

रामेछाप : सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्य बेपत्ता भएका छन्।
स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँसहित १६ जना बेपत्ता भएका हुन्।एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए।
बुधबार वा बिहीबार परिवारका १८ जना सदस्यको करिब आठ लाख रुपैँया सामाजिक सुरक्षा भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए। ‘हायुको परिवारले १८ जनाको भत्ता बुझेको हो। महिनाको ४ हजारको दरले एक वर्षको एकजनाको ४८ हजार हुन्छ,’ वडाध्यक्ष श्रेष्ठले भने।
छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेको श्रेष्ठले जानकारी दिए।
हायुको घरको भान्सामा आगो लागेर सामान्य क्षति भएको छ। जलेको भान्सामा काटेर भाँडामा राखेको सुँगुरको मासु फेला परेको छ। घर पालुवा जनावर भैँसी, बाख्रा, कुखुरा भने अलपत्र अवस्थामा छन्। उनीहरू शुक्रबारबाट बेपत्ता भएको हुनसक्ने वडाध्यक्ष श्रेष्ठको अनुमान छ।
घटनाबारे थाहा पाएपछि सोमबार बिहान प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी पुगेपछि प्रहरी र स्थानीयले अहिले उनीहरूको खोजी गरिरहेका छन्।
हायुका परिवारका कुनै सदस्यसँग पनि सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए।
वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिलाको श्रीमानको गत वर्ष निधन भएको थियो। ‘श्रीमान् पोहोर साल बित्नुभयो, उहाँहरूको १८ जनाको परिवार हो ६ भाइ छोरा, बुहारी, ६ बहिनी छोरी छन्, ती मध्ये एउटी छोरी काठमाडौँतिर छिन्, एउटी बुहारी विदेशतिर छिन्, अरू सबै घरमा नै छन्, जेठो ज्वाइँ पनि उहाँहरूसँगै बस्दै आउनु भएको रहेछ’, श्रेष्ठले भने।
भत्ता ल्याएर घरको सुँगुर काटेर खाएको हायु परिवार कसैले थाहा नपाउने गरी घर छाडेर हिँडेको पनि हुनसक्ने आशङ्का गरिएको छ।
‘बैंकबाट ऋण लिनु भएको रहेछ, बैंकका मान्छे वडा कार्यालयमा पनि पटक पटक आउने गरेका थिए, कतै पैसा ल्याएपछि बैंकबाट लिन आउँछ भनेर हिँड्नु भयो कि, अथवा अरू केही भयो कि, अहिले केही भन्न सकिने अवस्था नै रहेन’, वडाध्यक्ष श्रेष्ठले भने।
साउन १२, २०८२ सोमबार १६:३७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।