मनसुनको समयमा पनि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

गण्डकी : अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्ने पदमार्गमा मनसुनको समयमा पनि पर्यटकको चहलपहल रोकिएको छैन। दैनिक ५० जनाभन्दा बढी पर्यटक अहिले पनि आधार शिविर पुगिरहेका छन्।
छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार, यो मौसममा छिटो फुल्ने र ओइलाउने बुकी फूलदेखि विभिन्न प्रजातिका वनस्पति र हरियालीले यहाँ आउने जोकसैलाई लोभ्याउँछ। ‘मनसुनका बाबजुद पर्यटक आउँदा हामी व्यवसायी उत्साहित छौं,’ उनले भने।
झण्डै ४५ वर्षअघिसम्म पर्यटकहरू भेडीगोठ र झुपडीमा रात बिताउने गर्थे। तर अहिले सुविधा सम्पन्न होटेलहरू खुलेपछि त्यो बाध्यता हटेको सचिव गुरुङ बताउछन्।
‘केही वर्षअघि सम्म यहाँ २६ वटा होटेल मात्रै थिए, अहिले त्यो संख्या ३४ पुगेको छ,’ गुरुङले बताए। होटल विस्तारसँगै पर्यटक लक्षित सेवा सुविधा पनि बढाइएको छ। अब त दैनिक ५–६ सय पर्यटकलाई राख्ने क्षमता बनेको उनले जानकारी दिए।
पदयात्रा मार्ग सरसफाइलाई पनि व्यवस्थित बनाइएको छ। असारको पहिलो हप्ता र साउनको अन्तिममा नियमित सरसफाइ गरिन्छ। ‘यस वर्ष मात्रै २९० बोरा सिसा र प्लास्टिकजन्य फोहोर उठाएर पोखरा पठाइएको छ,’ उनले बताए।
पर्यटकको बाक्लो आगमन भदौको पहिलो सातादेखि सुरु हुने व्यवसायीहरूको अनुमान छ।
त्यसका लागि तयारी थालिएको छ। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङका अनुसार, ‘२०७५ सालदेखि हामीले अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएका छौं, जसले पदयात्रा पर्यटन प्रवर्द्धनमा ठुलो योगदान दिएको छ।’
सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेपछि यो क्षेत्रले विश्वभर चर्चा पाएको हो। त्यसको तीन वर्षपछि तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथा चढेका थिए। सन् १९६६ मा प्रख्यात पदयात्री एरिक सिप्टनले ४,१३० मिटर उचाइसम्मको यात्रा गरेपछि अन्नपूर्ण क्षेत्र पदयात्राको लोकप्रिय गन्तव्य बन्दै गएको छ।
साउन १२, २०८२ सोमबार १६:१४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।