अरे वाह ! विजय बरालले नाच्न पनि सिकेछन्

अरे वाह ! विजय बरालले नाच्न पनि सिकेछन्

काठमाडौं : अभिनेता विजय बरालको अभिनयको के टिप्पणी गर्नु। उनी आफ्नो त्यही अभिनयकै बलमा सामान्य भूमिका पाएको फिल्ममा पनि ट्वाक्कै नोटिस्ड हुनेगरि अभिनय गर्छन्। जतिसुकै सानो भूमिका होस् त्यसलाई न्याय गर्ने प्रयास छाड्दैनन्।

त्यसैको बलमा उनी सहायक भूमिकाबाट पूर्णबहादुरको सारङ्गीबाट मुख्य अभिनेतामा प्रमोसन भए। जब मुख्य अभिनेता भइन्छ नि भूमिका त बढ्छन् नै अन्य विधामा पनि क्षमता नबढाई सुख हुन्न। नत्र दयाहाङ राई अनि विपिन कार्कीहरू ठस् ठस् कन्दै भए पनि किन कम्मर मर्काउने प्रयास गर्थे र।

फिल्म ‘जनै हराइको मान्छे’ मा पनि विजयलाई आपत् आइलाग्यो अभिनेत्री केकी अधिकारीसँग कम्मर मर्काउने। उनीहरूलाई साथ दिने निस्किए गौरव पहाडी र मिरुना मगर। मसुरीको दाना बोलको गीतमा नाच्नुपर्ने भयो विजयले। अब मुख्य अभिनेता हुने अनि नाच्दिन भन्न त कहाँ पाइयो र।

सार्वजनिक भएको गीतको छायाङ्कन हेर्दा यो सम्झनामा आधारित गीत जस्तो देखिन्छ। अब नाच्नुपर्ने भएपछि ठस् ठस् कन्ने कि सम्भव भएसम्म नाच्ने प्रयास गर्ने! उनले दोस्रो उपाय अपनाए अनि सकेसम्म मिहिनेत गरे।

त्यसको नतिजा गीतको म्युजिक भिडियोमा देखिन्छ। यसमा कोरियोग्राफर सुनिल क्षेत्रीको पनि मिहेनत देखिन्छ। उनले विजयका लागि स्टेपहरु छान्दा कठिन स्टेपहरु छानेनन्। भर्खरका सिकारुहरूले पनि सहजै सिक्न सक्ने सहज स्टेपहरु निर्माण गरे। जसकारणले भिडियोमा विजयको नाच सहज देखियो।

सबैभन्दा उत्तम विकल्प एक कलाकारलाई सबै काम नगराउनु पनि हो। यदि कुनै कलाकारलाई नाच्न आउँदैन भने उसलाई जवर्जस्ती नचाउँदा भिडियो त बिग्रन्छ नै फिल्म समेत खल्लो बन्छ। कहिलेकाहीँ गीतकै कारण फिल्म हिट पनि हुन्छ, फ्लप पनि हुन्छ।

त्यसैले जुन कलाकार अझ विशेष क्यारेक्टरमा आधारित अभिनय गर्नेहरूलाई जवरजस्ती ननचाएकै राम्रो। अब मिहिनेत गरेर भिडियोमा त्यति असहज नलाग्ने गरी नाच्ने विजय जस्ता कलाकार भए सुहाउँदो स्टेप फुराएर नचाउँदा फरक पर्ने देखिएन।

फिल्म भदौ ६ मा रिलिज हुँदैछ। यही दिन फिल्म 'माग्ने राजा' पनि रिलिज हुँदैछ। यो फिल्मले पनि भर्खरै 'पैसामा' बोलको गीत सार्वजनिक गरेको थियो। फिल्मको प्रारम्भदेखि नै एकपछि अर्को विवाद आउँदा त्यसको प्रत्यक्ष असर प्रमोसनमा समेत परेको छ।

फिल्मलाई चर्चामा ल्याउने निर्माताले केदार घिमिरेको पारिश्रमिक ६१ लाख भनेर गरेको गलत प्रचारका कारण प्रमोसनमा हिँडेको फिल्म निर्माण टिम माफी माग्दै हिँड्नु परेको छ। फिल्म रिलिजको समयसम्म यही पारा हुने हो भने विजयले सोलो अभिनय गरेको दोस्रो फिल्मले पनि व्यवसायीक सफलताको झण्डा गाढ्न बेर छैन।

साउन १२, २०८२ सोमबार १६:०१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।