एक वर्षमै ४७ लाखको केरा बेचेका टेकेन्द्र भन्छन्- स्वदेशमै आत्मनिर्भर बन्न सकिने रहेछ

कैलाली : टीकापुर नगरपालिका-४ का किसान टेकेन्द्र धामीले गत वर्ष केराखेतीबाट मात्रै १५ लाख रुपैयाँ नाफा कमाएका छन्। उनले तीन बिघा सात कठ्ठा क्षेत्रफलमा लगाएको केरा खेतीबाट ४७ लाख रुपैयाँको बिक्री गर्न सफल भएका हुन्।
‘समयमै उत्पादन हुँदा ४७ लाख रुपैयाँको केरा बिक्री गरेँ, फुटकर बिक्रीको हिसाब त राखिएको छैन’, उनले भने, ‘एक बिघामा मात्रै १५ लाखसम्म आम्दानी गर्न सकिन्छ भन्ने अनुभव भयो।’
धामीले हाल १९ बिघा जमिनमा केरा लगाएका छन्। त्यसमध्ये केही आफ्नै जमिन हो भने बाँकी भाडामा लिएर खेती गर्दै आएका छन्। केरासँगै उनले तीन बिघामा उखु, अरू जमिनमा धान खेती तथा टिस्यु कल्चरमार्फत केराको बेर्ना उत्पादन पनि गरिरहेका छन्।
१४ वर्षदेखि केराखेतीमा सक्रिय उनी थोपा सिँचाइ प्रविधिको प्रयोग गर्दै उत्पादन बढाउँदै आएका छन्। उनलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयन एकाइले प्रविधिमा सहयोग दिँदै आएको छ।
‘आयोजनाले थोपा सिँचाइ प्रणाली, पावर टिलर, अटो जस्ता उपकरण सहयोग गर्यो ’, धामीले भने, ‘मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई पनि वितरण गर्न सहयोग गर्दै आएको छु ।’
उत्पादन राम्रो र आम्दानी सुनिश्चित भएपछि उनी स्वदेशमै बसेर रोजगारी सिर्जना गर्न सकिनेमा विश्वस्त छन्। ‘आफ्नो जमिन सदुपयोग गर्दै बाँकी जमिन भाडामा लिएर खेती गरिरहेको छु’, उनले भने, ‘तर मल, पोषक तत्त्वको सहज उपलब्धता छैन। लागतअनुसार मूल्य नपाउँदा कहिलेकाहीँ समस्या हुन्छ।’
धामीले असारमा रोप्ने परम्परागत चलन तोड्दै मंसिर र वैशाखमा पनि केरा रोप्न थालेका छन्। ‘हरेक किसान असारमा मात्रै रोप्छन्, तर वर्खामा केरा नपाइने भएपछि मैले मङ्सिरमा रोपेँ’, उनले भने, ‘साउनमा उत्पादन हुनेगरी योजना बनाएको थिएँ, तर मल नपाएर केही समस्यामा परेँ। वैशाखमा रोपेको केरा अहिले बजारमा पुग्दैछ।’
धामीले केराखेतीसँगै बहुबाली प्रणाली पनि अपनाउँदै आएका छन्। ‘केराबारीको बीचमा तोरी लगाएँ, २४ क्विन्टल उत्पादन भयो’, उनले भने, ‘अहिले खुर्कानी लटरम्म फलेको छ, तर कामदारको अभावले टिप्न गाह्रो भएको छ।’
उनका बारीमा नियमित १२ जना कामदारले रोजगारी पाएका छन्। याम अनुसार ज्यालादारीमा थप कामदार पनि लगाउने गरिएको छ। ‘प्राकृतिक प्रकोपबाट जोगिन सकियो भने र बजार ग्यारेन्टी भएमा केराबाट जति नाफा अरू बालीबाट आउँदैन’, उनी भन्छन्, ‘तर बाली बिमा सहज छैन, कम्पनीहरू बिमा गर्न मान्दैनन्, गरेका बिमामा पनि क्षतिपूर्ति पाएको छैन ।’
धामीले हाल ५० लाख रुपैयाँ बराबरको केरा बालीको बिमा गरेका छन् । ‘धेरै आग्रह गर्दा केही मात्रामा बिमा गर्न माने, त्यो पनि थोरै मात्रै”, उनले भने, “बाली बिमामा किसानलाई सहज बनाइदिनुपर्छ ।’
हाल कैलालीका किसानले बारीमै प्रतिदर्जन ४० देखि ४५ रुपैयाँमा केरा बिक्री गरिरहेका छन्। तर बजारमा उपभोक्ताले प्रतिदर्जन ८० रुपैयाँभन्दा बढी तिर्नुपर्ने अवस्था छ। किसानले उचित मूल्य नपाउँदा बिचौलिया लाभ लिइरहेका छन्।
यसपालि केराखेती गर्न चाहने किसानले समयमै बेर्ना नपाएको गुनासो छ। टीकापुर केराखेतीको उर्बर भूमि मानिन्छ।
रानीजमरा कुलरिया सिँचाइ आयोजनाका कृषि अधिकृत आकृति ठाकुरका अनुसार आयोजनाले किसानलाई थोपा सिँचाइ जडानमा सहयोग, बेर्नामा ५० प्रतिशत, सूक्ष्म पोषक तत्त्वमा ७५ प्रतिशत र प्रविधिमा सहायता गर्दै आएको छ।
‘केरासहित अन्य बालीमा पनि आयोजना सहयोगी छ’, कृषि अधिकृत ठाकुरले भने, ‘बजार विस्तारका लागि आवश्यक क्यारेटलगायत सामग्री पनि प्रदान गरिँदै आएको छ । दोस्रो चरणमा आयोजनाले २५० हेक्टर क्षेत्रफलमा केराखेती गर्न सहयोग गरेको छ । यसमा १०० हेक्टरमा थोपा सिँचाइ प्रविधि जडान गरिदिएको छ ।’
पहिलो चरणदेखि नै आयोजनाले केराखेतीमा किसानलाई सघाउँदै आएको छ। हालसम्म आयोजनाले ६८७ किसानलाई केराखेतीका लागि प्राविधिक तथा भौतिक सहयोग पुर्याएको छ। आयोजनाको सहयोगपछि टीकापुर र जानकी क्षेत्रका सयौँ किसान केराखेतीतर्फ आकर्षित भएका छन्।
आयोजना प्रमुख भरत कँडेलका अनुसार सरकारले युवालाई कृषिमा संलग्न गराउने नीति लिए अनुसार आयोजनाले पनि युवा किसानलाई प्रोत्साहन गर्दै आएको छ।
‘युवा कृषिमा लाग्नु सकारात्मक संकेत हो, यसले आत्मनिर्भरतातर्फ डोर्याउँछ’, कँडेल भन्छन्, ‘केराबाट पर्याप्त आम्दानी लिन सकिन्छ, कैलालीको माटो र मौसम केराको लागि उपयुक्त छ।’
तेस्रो चरणको आयोजना सुरु भइसकेको छ। आयोजनाले यस चरणमा पनि केरा किसानलाई सहयोग गर्ने, बजार विस्तारमा सहजीकरण गर्ने कार्यक्रम अघि सारेको प्रमुख कँडेलले बताएका छन्।
साउन १२, २०८२ सोमबार १५:२१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।