झापाका दुई महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि

झापा : मेचीनगर नगरपालिकामा दुई महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको छ।
मेचीनगर स्वास्थ्य शाखाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा सङ्क्रमण देखिएको हो। उनीहरूको विर्तामोडस्थित अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको र दुवैजना घर फर्किसकेको जनाइएको छ।
नगरमा सङ्क्रमण देखिएलगत्तै रोकथामका लागि उच्च सतर्कता अपनाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि र प्रादेशिक अस्पतालका विज्ञ टोलीसहितको छलफलपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले स्वास्थ्यकर्मीलाई घरदैलोमार्फत सचेतना फैलाउन र सङ्क्रमितको समयमै उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक भाइरसजन्य रोग हो, जसले मस्तिष्कमा गम्भीर असर गर्छ। सङ्क्रमित हाँस, कुखुरा, सुँगुर जस्ता पशुपन्छीलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्दछ।
यसका मुख्य लक्षणहरूमा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, बेहोस हुने र शरीर काम्ने जस्ता समस्या देखिन्छन्। समयमै उपचार नभएमा यसले स्नायु प्रणालीमा क्षति पुर्याई बिरामीको मृत्युसमेत हुनसक्छ।
स्वास्थ्यकर्मीहरूले यसबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै रहेको बताएका छन्। पूरा शरीर ढाक्ने कपडा लगाउने, राति झुल टाँगेर सुत्ने जस्ता सावधानी अपनाउन आग्रह गरिएको छ।
साथै, बालबालिकालाई १२ महिनाको उमेरमा र छुटेमा ५ वर्षभित्र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाउन पनि स्वास्थ्य शाखाले सुझाएको छ। नगर उपप्रमुख मीना उप्रेतीले सङ्क्रमणको अवस्था जटिल बनेमा प्रादेशिक अस्पताल भद्रपुरसँग समन्वय गरी उपचारको व्यवस्था मिलाइने बताए।
साउन १२, २०८२ सोमबार १४:२९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।