अमेरिका र चीनबीच अमेरिकी कर वृद्धिबारे सम्झौताका लागि पुनः वार्ताको तयारी

अमेरिका र चीनबीच अमेरिकी कर वृद्धिबारे सम्झौताका लागि पुनः वार्ताको तयारी

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति एक महत्वपूर्ण हप्तामा प्रवेश गर्दै गर्दा संयुक्त राज्य अमेरिका र चीनका उच्च आर्थिक अधिकारीहरूबीच सोमबार वार्ता हुनेभएको छ। 

विश्वका शीर्ष दुई अर्थतन्त्रबीच स्वीडेनको राजधानी स्टकहोममा हुने वार्ता आगामी दुई दिनसम्म चल्नेछ। अन्य देशहरू पनि वासिङ्टनसँग सम्झौतालाई अन्तिम रूप दिन हतारिएका बेला यो वार्ता हुन लागेको हो।

दर्जनौं व्यापारिक साझेदारहरूका लागि आगामी दिनहरूमा सम्झौता गर्न असफल हुनुको अर्थ उनीहरूले आगामी शुक्रबार ९अगस्ट १० देखि संयुक्त राज्य अमेरिकामा निर्यातमा उल्लेखनीय कर वृद्धिको सामना गर्न सक्दछन्। 

ब्राजिल र भारतजस्ता साझेदारलाई समेत अमेरिकामा आयात हुने कर दरमा १० प्रतिशतको ‘आधारभूत’ दरबाट ५० प्रतिशतसम्म कर बढ्ने सम्भावना बढेको छ। 

येल विश्वविद्यालयको बजेट ल्याब रिसर्च सेन्टरको तथ्याङ्कअनुसार ट्रम्प प्रशासनले लगाएको करले अमेरिकी आयातमा सन् १९३० को दशकयता कहिल्यै नदेखिएको स्तरमा कर वृद्धि गरिसकेको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसहितको प्रतिनिधिमण्डलले स्वीडेनमा उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा रहेको चिनियाँ टोलीसँग भेट्दा सबैका आँखा वासिङ्टन र बेइजिङबीचको वार्तामा केन्द्रित हुनेछन्।

अप्रिलमा दुवै देशले एकअर्काका उत्पादनमा तीन अङ्कको कर लगाए पनि यस वर्ष अमेरिकी कर अस्थायी रुपमा ३० प्रतिशतमा झारिएको छ भने चीनको प्रतिकारात्मक उपाय १० प्रतिशतमा झरेको छ।

तर गत मे महिनामा जेनेभामा भएको वार्तापछि सुरु भएको ९० दिने युद्धविरामको समयावधि अगष्ट १२ मा सकिँदैछ।
जेनेभा बैठकपछि दुवै पक्षले असहमति सुल्झाउन लण्डनमा बैठक गरेका थिए।

साउन १२, २०८२ सोमबार १४:२२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।