‘...मेरो छोरो आज मसँगै हुन्थ्यो’

सिन्धुली : रातको अँध्यारोलाई चिर्दै बिहानीको झिसमिसे सुरू हुँदै थियो। काठमाडौंबाट बर्दिबासतर्फ हुइँकिरहेको योद्धा पिकअपका यात्रुहरू सायद छिट्टै गन्तव्यमा पुग्ने हतारोमा थिए। तर, उनीहरूको यात्रा बीपी राजमार्गको शीतलपाटीमा एकाएक टुङ्गियो।
बा.प्र.०१-०२४ च ९९१३ नम्बरको त्यो पिकअप राजमार्गबाट करिब ५०० मिटर तल खस्दा मकवानपुर मनहरीका धर्मराज रेग्मीको जीवनको यात्रा पनि सधैँका लागि रोकियो। घटनास्थलमै उनको मृत्यु भयो, चालक निरज गम्भीर घाइते भए। धर्मराजको सपना गाडीसँगै बजारियो र उनको परिवारमा कहिल्यै नमेटिने पीडाको घाउ छोडेर गयो।
यो एउटा घटना मात्र होइन, सिन्धुलीका राजमार्गहरूमा हरेक दिनजसो घट्ने दुःखान्त कथाको एक अंश हो। दुई महिनाअघि मात्रै, मदन भण्डारी राजमार्गमा आफ्नै बालसुलभ दुनियाँमा रमाइरहेका १० वर्षीय मन्देश सदालाई तीव्र गतिको कारले ठक्कर दियो। सडक पार गर्ने क्रममा भएको त्यो दुर्घटनाले उनको जीवनको कलिलो मुना फुल्न नपाउँदै चुँडायो।
‘चालकले ट्राफिक नियम मानेको भए, सडकमा अलि होसियार भएको भए आज मेरो छोरो मसँगै हुन्थ्यो,’ मृतक मन्देशका बुबा गंगाराम सदा भक्कानिँदै भन्छन्, ‘त्यो दुर्घटनाले जीवनभरलाई पीडा दिएको छ। अब अरूका बालबालिकाले यसरी ज्यान गुमाउन नपरोस्।’
गंगारामको यो आवाज सिन्धुलीका राजमार्गमा ज्यान गुमाउने हरेक परिवारको साझा चित्कार हो।
त्रासदीको तथ्याङ्क
धर्मराज र मन्देश त प्रतिनिधि पात्र मात्र हुन्। पछिल्लो एक वर्षमा सिन्धुलीमा भएका २०० भन्दा बढी सवारी दुर्घटनामा ३० जनाभन्दा धेरैले अकालमा ज्यान गुमाएका छन्। ५२२ जनाभन्दा बढी घाइते भएका छन्, जसमध्ये कतिपय जीवनभर अपाङ्गताको पीडा बोकेर बाँच्न विवश छन्।
सिन्धुली जिल्ला तीन प्रमुख राष्ट्रिय मार्ग- बीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी राजमार्गको संगमस्थल हो। तर, यी राजमार्गहरू सहज यात्राका माध्यम मात्र होइन, मृत्युमार्ग जस्तै बनिरहेका छन्।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी ८२ वटा दुर्घटना बीपी राजमार्गमा भएका छन्, जहाँ ११ जनाले ज्यान गुमाए र २२३ जना घाइते भए। त्यस्तै, मदन भण्डारी राजमार्गमा ७८ दुर्घटनामा १४ जनाको र मध्यपहाडीमा ७ दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
किन हुन्छन् दुर्घटना?
‘राजमार्गको अवस्था राम्रो छ, तर चालकहरू तीव्र गतिमा सवारी हाँक्छन्,’ दुधौली ट्राफिक प्रहरी पोष्टका हबल्दार हरेराम खतिवडा भन्छन्, ‘सडक राम्रो देखेपछि गति नियन्त्रण गर्न नसक्दा दुर्घटना हुने गरेको छ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी निरीक्षक मोहम्मद कलिम अञ्जुमका अनुसार अधिकांश दुर्घटनाको प्रमुख कारण मानवीय लापरबाही हो।
‘चालकको असावधानी, तीव्र गति, मोबाइल चलाउँदै गाडी हाँक्ने बानी, हेल्मेट र सिट बेल्टको प्रयोग नगर्नु जस्ता कारण प्रमुख छन्,’ उनी भन्छन्, ‘हामीसँग सीमित जनशक्ति छ, सडक सञ्जाल लामो भएकाले सबैतिर निगरानी गर्न गाह्रो छ।’
चालकदेखि पैदलयात्रीसम्म, सबै जिम्मेवार
सबै चालक लापरबाह छन् भन्ने पनि होइन। वर्षौंदेखि बीपी राजमार्गमा माइक्रोबस चलाउँदै आएका रामबहादुर श्रेष्ठ भन्छन्, ‘ट्राफिक नियम तोडेर चाँडो पुग्न खोज्दा हामी आफ्नो मात्र होइन, यात्रुको जीवन पनि जोखिममा पार्छौं। लेन बदल्दा सिग्नल नदिने, फोनमा कुरा गर्ने जस्ता साना गल्तीले ठूलो दुर्घटना निम्त्याउँछ।’
उनी सडक प्रयोगकर्ताको व्यवहारमा पनि समस्या देख्छन्।
‘ट्राफिक नियम चालकका लागि मात्र होइन, पैदलयात्री र स्थानीयका लागि पनि हो भन्ने चेतना छैन,’ उनी थप्छन्, ‘कसैले सडकमै पराल सुकाउँछन्, कसैले बिस्कुन थुपार्छन्। पैदलयात्री जथाभाबी बाटो काट्छन्। यसले जोखिम झनै बढाएको छ।’
सडक संरचना सुधारले मात्र दुर्घटना न्यूनीकरण हुँदैन। जबसम्म मानवीय चेतना र व्यवहारमा परिवर्तन आउँदैन, तबसम्म फराकिलो सडक पनि सुरक्षित हुन सक्दैन।
‘सडक सुरक्षाबारे व्यापक जनचेतना फैलाउन आवश्यक छ,’ क्रियाशील पत्रकार महिला, सिन्धुलीकी सचिव सुनिता दर्नाल भन्छिन्, ‘सञ्चारमाध्यमबाट यो अभियान चलाउनु हाम्रो पनि कर्तव्य हो।’
ट्राफिक नियम कसैलाई दुःख दिन होइन, हरेक व्यक्तिको आफ्नै सुरक्षाका लागि बनाइएको हो। यसको पूर्ण पालना, कानुनी कार्यान्वयन र सामाजिक चेतनाको विस्तार एकैसाथ हुन सके मात्र सिन्धुलीका राजमार्गहरूमा अधुरै रहने सपनाहरूको दुःखद शृङ्खला रोकिन सक्छ।
नत्र, गन्तव्यमा नपुग्दै जीवन गुम्ने नियतिले हामी सबैलाई झस्काइरहनेछ।
राधिका बुढाथोकी / रासस
साउन १२, २०८२ सोमबार १४:०३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।