जब अभिनेत्रीले फिल्मको प्रिमियरमा निर्देशकलाई चप्पल हानिन्...

एजेन्सी : बलिउड अभिनेत्री रुचि गुर्जरविरुद्ध आइतबार मुम्बईको अंबोली प्रहरी चौकीमा उजुरी दर्ता भएको छ।
निर्देशक मान सिंहले आफ्नो फिल्मको प्रिमियरमा अभिनेत्रीले चप्पलले कुटेको घटनापछि यो उजुरी दर्ता गराएका हुन्। उजुरीमा अभिनेत्रीसहित अन्य ६ जनाको नाम पनि समावेश छ।
रुचिमाथि जबरजस्ती फिल्मको प्रिमियरमा आफ्नो सुरक्षा टोलीसहित प्रवेश गरी हंगामा मच्चाएको, गालीगलौज र मारपीट गरेर कार्यक्रममा बाधा पुर्याउने प्रयास गरेको आरोप लगाइएको छ। प्रहरीले रुचि गुर्जरविरुद्ध भारतीय न्याय संहिताका विभिन्न धाराहरू अन्तर्गत मुद्दा दर्ता गरेको छ।
के थियो प्रिमियरको घटना?
यो घटना २५ जुलाईको हो, जब निर्देशक मान सिंहको फिल्म ‘सो लङ भ्याली’ को प्रिमियर चलिरहेको थियो। अंधेरी वेस्टस्थित सिनेपोलिसमा राति करिब ९ बजे रुचि आफ्ना बर्डिगार्डसहित पुगेर निर्देशक मान सिंहमाथि चप्पलले आक्रमण गरेकी थिइन्।
निर्देशक मान सिंहका अनुसार, विवादको जड रुचि गुर्जर र निर्माता करण सिंहबीचको पैसाको लेनदेन हो। उनका अनुसार, सोनी टिभीको एक शोको लागि रुचि र करणबीच करिब १८ लाख भारुको लेनदेन भएको थियो। सन् २०२३ मा दुवैबीच पैसाको सेटलमेन्ट भइसकेको थियो।
मान सिंहले रुचि र करण सम्बन्धमा रहेको र सँगै कजाकिस्तानको अल्माटी घुम्न गएको आरोप पनि लगाएका छन्। उनले यससँग सम्बन्धित केही प्रमाणहरू पनि सार्वजनिक गरेका छन्।
रुचिले करणले त्यो पैसा मान सिंहको फिल्म ‘सो लङ भ्याली’मा लगानी गरेको आरोप लगाए पनि मान सिंहले यसलाई केवल सस्तो प्रचार र ब्ल्याकमेल गर्ने प्रयास भनेका छन्। उनले रुचिको नागरिकता र पासपोर्टमा फरक-फरक नाम भएकोमा पनि प्रश्न उठाएका छन्।
यता, निर्माता करण सिंहले पनि एक विज्ञप्ति जारी गर्दै आफूले मान सिंहको फिल्ममा कुनै पैसा लगानी नगरेको स्पष्ट पारेका छन्।
अदालतसम्म पुगेको थियो मुद्दा
यसअघि रुचि गुर्जरले ‘सो लङ भ्याली’को रिलिज रोक्न अदालतमा निवेदन दिएकी थिइन्, जसलाई अदालतले खारेज गरिदिएको थियो। यस मुद्दामा रुचिलेले करण सिंहका अलावा निर्देशक मान सिंह र फिल्मका कलाकारहरूलाई पनि मुछेकी थिइन्।
यता, रुचि गुर्जरले पनि २४ जुलाईमा निर्माता करण सिंहविरुद्ध ओशिवारा प्रहरी चौकीमा २४ लाख रुपैयाँ ठगीको उजुरी दर्ता गराएकी थिइन्। उनले करणले एक टिभी शोमा काम दिने बहानामा आफूसँग उक्त रकम लिएको आरोप लगाएकी छन्।
कान्स फिल्म फेस्टिभलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर भएको लकेट लगाएर चर्चामा आएकी उनले ‘जब तु मेरी ना रही’, ‘हेली में चोर’ जस्ता केही हिन्दी र हरियाणवी म्युजिक भिडियोमा काम गरेकी छन्।
साउन १२, २०८२ सोमबार १३:२७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।