भारतको अविश्वसनीय पुनरागमन, लगभग हारेको म्यान्चेस्टर टेस्ट बराबरीमा रोक्यो

भारतको अविश्वसनीय पुनरागमन, लगभग हारेको म्यान्चेस्टर टेस्ट बराबरीमा रोक्यो

एजेन्सी : भारतीय क्रिकेट टिमले लगभग हारेको म्यान्चेस्टर टेस्टमा शानदार पुनरागमन गर्दै खेल बराबरीमा रोकेको छ। दोस्रो पारीमा १४३ ओभर ब्याटिङ गर्दै भारतले इंग्ल्यान्डलाई जितबाट वञ्चित गरेको हो।

पाँच दिन चलेको यो खेलमा भारतीय टिम पहिलो पारीमा इंग्ल्यान्डभन्दा ३११ रनले पछि परेको थियो। यति मात्र होइन, दोस्रो पारीमा शून्य रनमा यशस्वी जैसवाल र साई सुदर्शन गरी दुई विकेट गुमाइसकेको थियो।

हारको संघारमा पुगेको भारतलाई ओपनर केएल राहुल (९० रन) र कप्तान शुभमन गिल (१०३ रन) ले तेस्रो विकेटका लागि ४२१ बलमा १८८ रनको साझेदारी गर्दै संकटबाट बाहिर निकालेका थिए। तर, खेलको अन्तिम दिन यी दुवै ब्याट्सम्यान आउट भएपछि खेल फेरि इंग्ल्यान्डको पक्षमा देखिएको थियो।

त्यसपछि अलराउन्डर वाशिङ्टन सुन्दर (१०१* रन) र रवीन्द्र जडेजा (१०७* रन) ले पाँचौं विकेटका लागि ३३४ बलमा २०३ रनको अविजित साझेदारी गर्दै खेल बराबरीमा टुंग्याए।

ओल्ड ट्राफोर्डमा भएको खेलमा भारतले पहिलो पारीमा ३५८ रन र दोस्रो पारीमा ४ विकेटको क्षतिमा ४२५ रन बनायो। इंग्ल्यान्डले आफ्नो पहिलो पारीमा ६६९ रन बनाएको थियो।

यो नतिजासँगै भारतले ५ खेलको टेस्ट सिरिज बराबरी गर्ने सम्भावना जीवितै राखेको छ। हाल इंग्ल्यान्ड २-१ ले अगाडि छ।

यदि भारतले लन्डनको ओभलमा जुलाई ३१ देखि सुरु हुने अन्तिम टेस्ट जितेमा सिरिज २-२ को बराबरीमा टुंगिनेछ। हारेको खण्डमा भारतले ३-१ ले सिरिज गुमाउनेछ।

साउन १२, २०८२ सोमबार १२:५४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।