‘शान’कै लागि मन्त्रालयको नाम फेर्ने अनि प्रहरी थर्काउँदै हिँड्ने पाण्डेय चौथो पटक मन्त्री नियुक्त

‘शान’कै लागि मन्त्रालयको नाम फेर्ने अनि प्रहरी थर्काउँदै हिँड्ने पाण्डेय चौथो पटक मन्त्री नियुक्त

बुटवल : आफ्नो कार्यशैलीका कारण बारम्बार विवादमा आउने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय लुम्बिनी प्रदेश सरकारको मन्त्री नियुक्त भएका छन्।

मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् विस्तार गरेसँगै पाण्डेय चौथो पटक मन्त्री बनेका हुन्। उनको आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण हुँदैछ।

२०७८ मा एमालेका शंकर पोखरेल र २०७९ मा माओवादीका कुलप्रसाद केसी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री र २०८० मा कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए। अहिले उनलाई मुख्यमन्त्री आचार्यले खेलकुद मन्त्री बनाएका हुन्।

फरक-फरक सरकारमा सहभागी हुँदै पटक-पटक मन्त्री बनेका कारण पाण्डेयलाई कतिपयले ‘अवसरवादी’ नेताका रूपमा समेत चित्रण गर्छन्। लोसपाबाट पटक-पटक अवसर पाउनेमा उनी एक्ला नेता हुन्।

विवादित विगत : ‘शान’कै लागि मन्त्रालयको नाम परिवर्तन
विगतमा मन्त्री हुँदा पाण्डेय प्रहरीलाई हप्कीदप्की गर्नेदेखि आफ्नो प्रतिष्ठाकै लागि मन्त्रालयको नाम नै फेर्नेसम्मका कार्यले विवादित बनेका थिए।

मुख्यमन्त्री चौधरीको पालामा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनेका उनले आफ्नै जोडबलमा मन्त्रालयको नाम परिवर्तन गरी ‘गृह मन्त्रालय’ बनाएका थिए।

प्रदेशमा प्रहरी समायोजन नभइसकेको अवस्थामा नाम मात्रै फेरेर ‘गृहमन्त्री’ बनेका उनलाई त्यतिबेला ‘प्रहरी बिनाका गृहमन्त्री’ भनेर व्यङ्ग्य गरिएको थियो।

अधिकारविहीन भए पनि चर्चामा रहन उनले सार्वजनिक रूपमै प्रहरीलाई फोनमा निर्देशन दिएको र त्यस्ता भिडियो सामाजिक सञ्जालमा राख्ने गरेका थिए, जसले उनलाई थप आलोचित बनायो।

उनी सरकारबाट बाहिरिएपछि उक्त मन्त्रालयको नाम पुनः ‘आन्तरिक मामिला तथा कानुन मन्त्रालय’मा परिवर्तन गरिएको थियो।

शैली उस्तै, रोकिएन प्रहरीमाथि हप्कीदप्की
मन्त्री नहुँदा पनि पाण्डेयको शैली उस्तै रहेको उनका हालसालका गतिविधिले देखाउँछन्।

केही दिनअघि मात्रै उनले निषेधित क्षेत्रमा पार्किङ गरिएको भारतीय नम्बर प्लेटको कारलाई चिट काटेका ट्राफिक प्रहरीलाई भारतीय नागरिककै अगाडि थर्काएको भिडियो आफ्नै टिकटकमा राखेका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवाकी प्रमुख प्रहरी निरीक्षक रन्जु केसीले नियमअनुसार कारबाही गर्दा सांसद पाण्डेयले उल्टै प्रहरीलाई हप्काएको पुष्टि गरिन्।

‘हामीले आफ्नो ड्युटी पूरा गरेका हौँ, तर माननीयज्यूले आएर किन जरिवाना गर्ने भन्दै प्रहरीलाई थर्काउनुभयो’, उनले भनिन्।

यसबाहेक, पाण्डेयले दुई हप्ताअघि पनि डिउटीमा रहेका प्रहरीलाई गाली गरेको प्रहरीकै एक अधिकृतले बताए।

‘तीन जना भारतीय युवा विना हेल्मेट मोटरसाइकल चलाएर हिडेको भेटाएपछि प्रहरीले रोकेर कारबाही गर्दै थियो। त्यहि बेला त्यहाँ आउनुभएका सांसद पाण्डेयले प्रहरीलाई गाली गर्नुभयो’, ती प्रहरी अधिकृतले भने।

त्यसअघि बेलहिया नाकाबाट अटोमा आइरहेका भारतीय नागरिकलाई सशस्त्र प्रहरीले डन्डामा चेक गर्दैगर्दा पुगेका पाण्डेयले भारतीय नागरिकलाई चेकजाँच नगर्न भन्दै सशस्त्र प्रहरीलाई थर्काएका थिए।

सांसद पाण्डेयले भने भारतीय पर्यटकलाई अनावश्यक दुःख दिन नहुने पहल आफूले गर्दै आएको बताउँदै आएका छन्।

‘माननीय कप’ देखि बजेट विनियोजनसम्म
सधै चर्चामै रमाउन खोज्ने पाण्डेयको पहलमा रुपन्देही क्षेत्र नम्बर ३(क) का वडाहरूलाई समेटेर प्रथम माननीय कप क्रिकेट प्रतियोगिता समेत आयोजना गरियो।

त्यस क्षेत्रअन्तर्गत रहेका १८ वटा वडा, कर्मचारी र सञ्चारकर्मी गरी २० टीमबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिता जेठ ४ देखि ८ गतेसम्म सञ्चालन भएको थियो।

चालु आर्थिक वर्षका लागि माननीय कप क्रिकेट प्रतियोगिताका लागि उनै पाण्डेयकै पहलमा प्रदेशबाट यस पटक बजेट समेत विनियोजन भएको छ।

पार्टीभित्रै सल्लाह नगरी मन्त्री बनेपछि विवाद
पाण्डेयको पछिल्लो नियुक्तिले पार्टीभित्रै विवाद सिर्जना गरेको छ। लोसपा संसदीय दलका उपनेता कन्हैया बानियाले पार्टीमा कुनै सल्लाह नगरी पाण्डेय एक्लै मन्त्री बनेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्।

बजेट पास गर्ने दिन सदन बहिष्कार गरेर विपक्षी बेन्चमा बस्ने निर्णय गरेको लोसपाबाट पाण्डेय कसरी सरकारमा सहभागी भए भन्दै बानियाले प्रश्न उठाएका छन्।

पार्टीको संसदीय दलको नेता र प्रदेश अध्यक्षसमेत रहेका पाण्डेयले सरकारमा जाने विषयमा कुनै औपचारिक निर्णय नगराएको उपनेता बानियाको आरोप छ।

साउन १२, २०८२ सोमबार १०:५०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।