एक फोन कलले निम्त्याएको युद्ध : थाई प्रधानमन्त्रीको पद गुम्यो, कम्बोडियासँगको सङ्घर्षमा ३३ जनाको मृत्यु

एजेन्सी : एउटा फोन कल, जुन शान्तिका लागि गरिएको थियो, त्यसैले एउटा देशकी प्रधानमन्त्रीको पद खोस्यो र दुई छिमेकी देशलाई युद्धको चपेटामा पुर्यायो।
यो थाईल्याण्ड र कम्बोडियाबीचको हालैको सङ्घर्षको अवस्था हो, जसको पछाडि एक शताब्दीभन्दा पुरानो सीमा विवाद, पारिवारिक मित्रता र राजनीतिक धोकाधडी लुकेको छ।
चार दिनदेखि जारी यस युद्धमा हालसम्म ३३ जनाको मृत्यु भइसकेको छ भने २ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहलमा दुवै देश युद्धविराम वार्ताका लागि तयार भएको दाबी गरेका छन्।
आज हामी त्यो फोन कल रेकर्डिङमा त्यस्तो के थियो, जसले थाई प्रधानमन्त्री पाइतोंग्तार्न शिनवात्रालाई पदबाट हटाउन बाध्य बनायो र दुई देशलाई युद्धको मुखमा धकेल्यो भन्नेबारे जान्नेछौँ।
थाईल्याण्ड र कम्बोडियाका सेनाबीच २८ मे बिहान ६ बजे भिडन्त सुरू भयो। करिब १० मिनेटसम्म चलेको गोली हानाहानमा कम्बोडियाली सेनाका लेफ्टिनेन्ट सुओन रौनको मृत्यु भयो। दुवै देशले एक-अर्कालाई पहिले आक्रमण गरेको आरोप लगाए।
यो घटनापछि दुवै देशले सीमामा थप सैनिक तैनाथ गरे। तनाव बढ्दै गएपछि यसलाई शान्त पार्न थाईल्याण्डकी तत्कालीन प्रधानमन्त्री पाइतोंग्तार्न शिनवात्राले १५ जुनमा कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनलाई फोन गरिन्।
दुई नेताबीच १७ मिनेट कुराकानी भयो, तर त्यो कुराकानीको अडियो रेकर्डिङ लिक भयो। यसले थाईल्याण्डमा राजनीतिक भुइँचालो ल्यायो र अन्ततः १५ दिनभित्रै शिनवात्राले आफ्नो पद गुमाउनु पर्यो। त्यसको केही समयपछि, २४ जुलाईमा थाईल्याण्ड र कम्बोडियाबीच औपचारिक रूपमा सङ्घर्ष सुरू भयो।
शिनवात्रा र हुन सेनबीच भएको कुराकानीको अंश: शिनवात्रा: मलाई तपाईंसँग सीमा विवादबारे कुरा गर्नु छ। हामी दुवै शान्ति चाहन्छौँ। काका सेनाको कुरा तपाईंले सुन्नुभएको म चाहन्नँ। उनीहरू हाम्रा विरोधी हुन्। सेनाका जनरललाई त केवल ‘कूल’ देखिनु छ। कृपया आफ्नो भतिजीप्रति केही सहानुभूति राख्नुहोस्। आजभोलि मानिसहरू मलाई कम्बोडियाको प्रधानमन्त्री बन्न भनिरहेका छन्। यदि तपाईंको कुनै माग छ भने मलाई भनिदिनुहोस्। हुन सेन: हामी यही चाहन्छौँ कि सबै सीमाहरू पहिलेको जस्तै फेरि खोलिऊन्। कम्बोडिया यति मात्र चाहन्छ, र यो नै पहिलो कदम हो। शिनवात्रा: ठीक छ, हामी प्रयास गर्नेछौँ। हुन सेन: हामी सबै कुरा पहिले जस्तै होस् भन्ने चाहन्छौँ, तर थाईल्याण्डले अहिलेसम्म यस्तो कुनै कदम चालेको छैन। थाईल्याण्डले नै पहिले सीमा बन्द गरेको हो, त्यसैले उसैले पहिले खोल्नुपर्छ। शिनवात्रा: हामी तयार छौँ। हामी यो खोल्न सक्छौँ, तर यसलाई आपसी सहमतिको रूपमा हेरिनुपर्छ। म कमजोर देखिएँ जस्तो नहोस्, किनभने अब कुरा धेरै अगाडि बढिसकेको छ। हुन सेन: ठीक छ। शिनवात्रा: हस्, ठीक छ। म छिट्टै यसबारे केही गर्छु। हुन सेन: म तपाईंको कदमको प्रतीक्षा गर्नेछु। |
शिनवात्रा र हुन सेनबीच भएको कुराकानीको अंश:
शिनवात्रा: मलाई तपाईंसँग सीमा विवादबारे कुरा गर्नु छ। हामी दुवै शान्ति चाहन्छौँ। काका सेनाको कुरा तपाईंले सुन्नुभएको म चाहन्नँ। उनीहरू हाम्रा विरोधी हुन्।
सेनाका जनरललाई त केवल ‘कूल’ देखिनु छ। कृपया आफ्नो भतिजीप्रति केही सहानुभूति राख्नुहोस्। आजभोलि मानिसहरू मलाई कम्बोडियाको प्रधानमन्त्री बन्न भनिरहेका छन्। यदि तपाईंको कुनै माग छ भने मलाई भनिदिनुहोस्।
हुन सेन: हामी यही चाहन्छौँ कि सबै सीमाहरू पहिलेको जस्तै फेरि खोलिऊन्। कम्बोडिया यति मात्र चाहन्छ, र यो नै पहिलो कदम हो।
शिनवात्रा: ठीक छ, हामी प्रयास गर्नेछौँ।
हुन सेन: हामी सबै कुरा पहिले जस्तै होस् भन्ने चाहन्छौँ, तर थाईल्याण्डले अहिलेसम्म यस्तो कुनै कदम चालेको छैन। थाईल्याण्डले नै पहिले सीमा बन्द गरेको हो, त्यसैले उसैले पहिले खोल्नुपर्छ।
शिनवात्रा: हामी तयार छौँ। हामी यो खोल्न सक्छौँ, तर यसलाई आपसी सहमतिको रूपमा हेरिनुपर्छ। म कमजोर देखिएँ जस्तो नहोस्, किनभने अब कुरा धेरै अगाडि बढिसकेको छ।
हुन सेन: ठीक छ।
शिनवात्रा: हस्, ठीक छ। म छिट्टै यसबारे केही गर्छु।
हुन सेन: म तपाईंको कदमको प्रतीक्षा गर्नेछु।
विवादको जड : ११८ वर्ष पुरानो सीमाङ्कन
सन् १९०७ मा जब कम्बोडिया फ्रान्सको उपनिवेश थियो, त्यतिबेला दुई देशबीच ८१७ किलोमिटर लामो सीमा निर्धारण गरिएको थियो। थाईल्याण्डले यसको विरोध गर्यो, किनभने नक्सामा ‘प्रिह विहियर’ (प्रिय विहार) मन्दिर कम्बोडियाको भूभागमा देखाइएको थियो।
त्यस्तै, ‘ता मुएन थॉम’ मन्दिरलाई थाईल्याण्डमा देखाइयो, जबकि कम्बोडियाले त्यसलाई आफ्नो मान्दै आएको छ। यसरी, दुवै देश सीमा विभाजनबाट असन्तुष्ट थिए र यो विवाद आजसम्म पनि कायम छ।
दुई परिवारको मित्रता कसरी बदलियो दुश्मनीमा?
थाईल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन शिनवात्रा (पाइतोंग्तार्नका पिता) र कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेन पुराना मित्र हुन्। उनीहरूको मित्रता सन् १९९० को दशकमा सुरू भएको थियो।
सन् २००६ मा थाई सेनाले ‘कु’ गरेर थाक्सिनलाई सत्ताबाट हटाएपछि उनले देश छोड्नुपरेको थियो। त्यतिबेला हुन सेनले नै उनलाई कम्बोडियामा शरण दिएका थिए र सन् २००९ मा आफ्नो आर्थिक सल्लाहकारसमेत बनाएका थिए।
यही पुरानो सम्बन्धका कारण सीमा विवाद सुल्झाउन थाक्सिनकी छोरी र तत्कालीन थाई प्रधानमन्त्री पाइतोंग्तार्नले हुन सेनलाई फोन गरेकी थिइन्। हुन सेनले २०२३ मा आफ्ना छोरा हुन मानेटलाई प्रधानमन्त्री पद सुम्पेर आफू संसदको अध्यक्ष बनेका थिए, तर आज पनि उनलाई देशको सबैभन्दा शक्तिशाली नेता मानिन्छ।
हुन सेनले नै गरे कल रेकर्डिङ लीक
हुन सेनले उक्त फोन कल रेकर्ड गरे र त्यसलाई करिब ८० थाई तथा कम्बोडियाली अधिकारीहरूलाई पठाए, जसमा राजनीतिज्ञ, सैन्य अधिकारी र पत्रकार पनि थिए। १८ जुनमा यो रेकर्डिङ सामाजिक सञ्जालमा लीक भयो। पछि, हुन सेनले आफूले नै कल रेकर्ड गरेर पठाएको स्वीकार गरे। उनले गलत बुझाइबाट बच्न यसो गरेको दाबी गरे।
कल लीक भएपछि थाईल्याण्डमा पाइतोंग्तार्न शिनवात्राविरुद्ध विरोध प्रदर्शन सुरू भयो। आफ्नै सेना प्रमुखको आलोचना गरेको कुरा बाहिरिएपछि प्रधानमन्त्री आफ्नै सेनाको विरुद्धमा रहेको सन्देश गयो।
सेनाले प्रधानमन्त्रीमाथि देशको रक्षा गर्न नसक्ने आरोप लगायो। चौतर्फी दबाब र गठबन्धनका दलहरूले समर्थन फिर्ता लिएपछि सर्वोच्च अदालतले १ जुलाईमा प्रधानमन्त्री शिनवात्रालाई पदबाट हटायो।
बौद्ध देशहरूमा शिव मन्दिरलाई लिएर सङ्घर्ष
थाईल्याण्डमा राजनीतिक अस्थिरता बढेपछि कम्बोडियाले सीमामा आफ्नो गतिविधि बढायो। आफ्नो प्रतिष्ठा र सीमामा नियन्त्रण कायम राख्न थाई सेनाले जवाफी कारबाही सुरू गर्यो।
यसैबीच, २४ जुलाईमा थाईल्याण्ड र कम्बोडियाको सीमामा रहेको ९०० वर्ष पुरानो शिव मन्दिर (प्रासात ता मुएन थॅाम) नजिक दुई देशका सेनाबीच झडप भयो। यो मन्दिर थाईल्याण्डको नक्सामा पर्छ, तर कम्बोडियाले यसलाई आफ्नो धरोहर मान्छ।
यही घटनाले युद्धको रूप लियो, जसमा दर्जनौँले ज्यान गुमाइसकेका छन्। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाए पनि कुनै ठोस नतिजा निस्कन सकेको छैन।
साउन १२, २०८२ सोमबार ०९:४८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।