जर्मनीमा पटरीबाट बाहिरियो रेलका दुई डिब्बा : तीन जनाको मृत्यु, कयौँ गम्भीर घाइते

एजेन्सी : जर्मनीको दक्षिण-पश्चिमी क्षेत्रमा एउटा यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार, दुर्घटनामा अन्य कयौँ व्यक्ति गम्भीर घाइते भएका छन्।
रेल सञ्चालक कम्पनी ‘डोइचे बान’ले स्टुटगार्ट नजिकैको रोइटलिङ्गनमा रेल दुर्घटनाग्रस्त भएको जनाएको छ।
दुर्घटनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। यद्यपि, स्थानीय सञ्चारमाध्यमहरूले दुर्घटना हुनुभन्दा केही समयअघि त्यस क्षेत्रमा ठूलो आँधीबेहरी आएको उल्लेख गरेका छन्।
जर्मन समाचार संस्था डीपीएका अनुसार, रेलमा करिब १०० जना यात्रु सवार थिए। स्थानीय समयअनुसार साँझ ६:१० बजे एक जंगली इलाकामा रेलका कम्तीमा दुईवटा डिब्बा पटरीबाट बाहिर गएका थिए।
यसैबीच, जर्मनीका चान्सलर फ्रेडरिक मेर्ट्जले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत् घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
चान्सलर मेर्ट्जले आफू गृहमन्त्री र यातायातमन्त्रीसँग निरन्तर सम्पर्कमा रहेको र आपत्कालीन सेवा तथा उद्धार कार्यका लागि आवश्यक सबै सहयोग गर्न निर्देशन दिएको बताएका छन्।
घटनास्थलबाट सार्वजनिक भएका तस्बिरहरूमा रेलका डिब्बाहरू पल्टिएको र ठूलो संख्यामा आपत्कालीन टोलीहरू राहत तथा उद्धार कार्यमा खटिएको देखिन्छ।
साउन १२, २०८२ सोमबार ०९:२२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।