विहानैदेखि मनसुन सक्रिय : दिउँसो देशभर वर्षा हुने, चार प्रदेशका केही स्थानमा भारी वर्षाको समेत चेतावनी

विहानैदेखि मनसुन सक्रिय : दिउँसो देशभर वर्षा हुने, चार प्रदेशका केही स्थानमा भारी वर्षाको समेत चेतावनी

काठमाडौं : देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार, आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:५५ बजे जारी गरेको बुलेटिन अनुसार, कोशी प्रदेशको तराई भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

भारी वर्षाले ती क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम बढाउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

पछिल्लो एक घण्टाको मौसमको अवस्था हेर्दा मनसुन सक्रिय रहेको देखिन्छ। 

बिहानैदेखि बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का पानी परिरहेको छ भने कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

विभागले वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न र दैनिक जीवनयापन तथा यातायातमा पर्न सक्ने असरप्रति सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

साउन १२, २०८२ सोमबार ०९:१५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।