उद्यमी कुन्नमको प्रसव पीडा र खुसी : दश महिनाकी छोरीलाई पाँच महिनापछि भेट्दा मलाई नै चिनिन अनि भक्कानिएर रोएँ

काठमाडौं : नेपाल बैंक लिमिटेडकी पूर्वकर्मचारी कुन्जना मिश्रले केही समय जागिर र व्यवसाय सँग-सँगै अगाडि बढाइन्। तर, व्यवसाय विस्तार हुँदै गएपछि उनले बैंकबाट अवकाश लिएर पूर्ण रूपमा व्यवसायमै आफूलाई समर्पित गरिन्।
सरकारी जागिरे परिवारकी सदस्य भएकाले उनलाई व्यवसाय गर्न घर र समाजबाट सुरूमा निरन्तर निरुत्साहित गरियो, तर उनले आफ्नो उद्यमलाई नै प्राथमिकता दिइन्। अहिले उनको त्यही उद्यमलाई दोस्रो पुस्ता, अर्थात् छोरी कुन्नम पोखरेलले सफलतापूर्वक अगाडि बढाइरहेकी छन्।
उद्यमी कुन्नमले आमाको ‘कुञ्ज आर्टिस्टिक बिड वर्क’ लाई निरन्तरता दिएको २० वर्ष भइसक्यो। आमाको व्यवसायलाई नजिकबाट देखेकी र बुझेकी उनलाई आफ्नो पढाइ, घर-परिवार र व्यवसाय व्यवस्थापन गर्न सजिलो भने थिएन। तर, पर्याप्त पारिवारिक साथका कारण उनले सबै जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आइन्।
उनी र उनका श्रीमान् मिलेर सप्तरीमा आँपको फार्मदेखि सामुदायिक अस्पतालसम्म सञ्चालन गर्दै आएका छन्। सप्तरीका महिलाहरूलाई उद्यमशीलतामा जोड्ने उद्देश्यले कृषिमा लगानी गरेकी उनको संलग्नता शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै छ। उनी ‘एसियन आमा नेपाल’ नामक संस्थाकी अध्यक्षसमेत हुन्।
दुई सन्तानकी आमासमेत रहेकी उनी अहिले आफ्नो उद्यमका साथै सामाजिक सेवामा पनि रुचि राख्छिन्। उनै उद्यमी कुन्नमले उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’मा आफ्नो मातृत्व अनुभव यसरी साटिन्:
०००
म काठमाडौंको कालिमाटीमा जन्मिएँ। मेरा बुबा सरकारी अधिकृत हुनुहुन्थ्यो। मेरी आमाको बिहे दश कक्षा पढ्दै गर्दा भएको रहेछ र बिहेपछि नै उहाँले एसएलसी दिनुभएको थियो। म पढ्दै गर्दा आमाले जागिरसँगै उद्यमशीलतामा पनि चाख देखाउन थाल्नुभएको थियो। मौका मिल्नासाथ म उहाँलाई सघाउँथें।
हामी चार जना दिदीभाइ-बहिनी छौँ। सन्तान अलि हुर्किएपछि आमाले स्नातक तहसम्म पढेर बैंकमा जागिर सुरू गर्नुभयो। हाम्रो घरमा बुबा-आमा दुवै जागिरे हुनु भएकोले धेरै मानिस ‘जागिर लगाइदिनुपर्यो’ भन्दै आउनुहुन्थ्यो। त्यसबेला बुबाले धेरैलाई जागिर लगाइदिनुभएको पनि मलाई याद छ।
जागिरको खोजीमा आउने महिलाहरूका लागि केही गर्नुपर्छ भन्ने लागेर आमाले आफ्नै लगानीमा सानो पोते उद्योग खोल्नुभयो। उहाँ नेपालमा पोतेका विभिन्न सामान बनाउने सुरुवाती उद्यमीमध्ये एक भनेर चिनिनुहुन्छ र यसका लागि धेरै सम्मान पनि प्राप्त गर्नुभएको छ।
हामी बाहुन-क्षेत्री समुदायमा, त्यसमाथि महिलाले आफ्नै उद्यम गर्छु भन्दा आमालाई सुरूमा धेरै गाह्रो भयो। तर, मैले भने यस मामिलामा त्यस्तो कठिनाइ भोग्नुपरेन। पछि काम बढ्दै गएर हाम्रो उद्योगमा पाँच सय जनासम्मले काम गरेको अनुभव पनि हामीले सँगाल्यौँ।
विज्ञानमा स्नातक सक्किनेबित्तिकै मेरो विवाह भयो। विवाहपछि मैले रसायनशास्त्र (केमेस्ट्री) मा स्नातकोत्तर गर्न थालेँ। हाम्रो मागी विवाह हो। मेरा श्रीमान् त्यसबेला एमबीबीएस अन्तिम वर्षमा पढ्दै हुनुहुन्थ्यो। हाम्रा दुई सन्तान छन्। पारिवारिक सहयोगले गर्दा वैवाहिक जीवनमा मैले त्यति धेरै उतारचढाव महसुस गरिनँ।
विवाहको डेढ वर्षपछि हाम्रो छोरी जन्मिई। म पहिलो पटक गर्भवती भएको थाहा पाउँदाको क्षण रोचक छ। म बस चढेर कीर्तिपुर क्याम्पस जाँदै थिएँ, बसमै ढलेछु। अस्पतालमा जाँच गराउँदा गर्भवती भएको थाहा भयो।
यो खबरले हामी खुसी भयौँ तर अलि अचम्ममा पनि पर्यौँ, किनकि हामी दुवै जना पढ्दै थियौँ र कुनै तयारी गरेका थिएनौँ। हामी आफ्नो खुट्टामा उभिसकेका पनि थिएनौँ। तर भनिन्छ नि, हरेक बच्चाले आफ्नो भाग्य लिएर आएको हुन्छ, पछि सबै कुरा राम्रै हुँदै गयो।
सुरूमा केही नर्भस पनि भएँ। के-कसो हुने हो भन्ने चिन्ता लागिरह्यो। त्यसपछिका तीन महिना मलाई निकै गाह्रो भयो। वान्ता हुने, ग्यास्ट्रिक बढ्ने र खाना नरुच्ने भएपछि म कमजोरसमेत भएँ। घरमा माछा पकाउँदाको गन्ध सहन नसकेर घरबाहिर बसेको समेत छु।
श्रीमान् डाक्टर भएकाले उहाँले ‘हिँड्नुपर्छ’ भनेर मलाई त्यसबेला धेरै नै हिँडाउनुभयो। हामीले काठमाडौंका लगभग सबै ठाउँ त्यतिबेला हिँडेरै घुम्यौँ होला। त्यसैले गर्दा होला, मेरो तौल पनि धेरै बढेन र शारीरिक रूपमा सबै ठीक भयो। तर, मानसिक रूपमा भने अलि डर लाग्थ्यो। अब के गर्ने होला, बच्चा कसरी हुर्काउने होला भनेर पिर परिरहन्थ्यो।
बच्चा जन्मिने बेला क्याम्पसमा पहिलो वर्षको परीक्षा चलिरहेको थियो। त्यस बखत म गर्भावस्थाको तेस्रो त्रैमासिकमा थिएँ। बसिरहन पनि अप्ठ्यारो हुन्थ्यो। एउटा पेपर दिएपछि मैले परीक्षा नै छोड्नुपरेको थियो।
समय आएपछि राति मलाई पेट दुख्न थाल्यो र बिहान हामी अस्पताल गयौँ। श्रीमान् टिचिङ अस्पतालमा काम गरिरहनुभएकोले मलाई त्यहीँ लगियो। त्यो रात केही भएन, तर दोस्रो दिन व्यथा बढ्यो। दिउँसो चार बजे मैले छोरीलाई अप्रेसन बिना नै जन्म दिएँ।
अस्पतालमा आमा बन्न लागेका अन्य महिलाहरूको चिच्याहट एकदम डरलाग्दो सुनिन्थ्यो। तर, श्रीमान् साथमै भएका कारण मैले त्यति धेरै गाह्रो महसुस गरिनँ। बच्चा जन्मिएपछि सबै पीडा तुरुन्तै हराएर गयो। आफ्नो बच्चालाई पहिलो पटक देख्दा निकै खुसी लाग्यो। छोरीलाई काखमा लिँदाको त्यो क्षण म शब्दमा वर्णन गर्न सक्दिनँ। आमा हुन पाएकोमा गर्व महसुस भयो।
‘मैले एउटा मानवलाई यो धर्तीमा ल्याएँ। अब मेरो जीवनको मुख्य उद्देश्य यो अबोध बालकलाई असल, सक्षम र स्वस्थ बनाउनु हो’ भन्ने भाव मनमा आयो। एउटी आमाका लागि सन्तानको आगमनपछि प्राथमिकता सन्तान मात्रै हुने रहेछ।
स्तनपान गराउँदा सुरुमा गाह्रो भए पनि पछि सहज भयो। सुत्केरी स्याहार पनि निकै राम्रो पाएँ। छोरी दुई महिनाकी भएपछि म क्याम्पस जान थालेँ। बिहान दूध खुवाएर घरबाट निस्किन्थेँ, केही समयपछि दूध गानिएर आउँथ्यो।
दोस्रो वर्षको परीक्षा नजिकिएपछि पढ्न गाह्रो हुन थाल्यो। अनि, मैले दश महिनाकी छोरीलाई सप्तरीमा सासु-ससुरासँग छोडेर आएँ। त्यसबेला छोरीको एकदमै याद आउँथ्यो। मैले उसको सम्झनामा कविता पनि लेखेकी छु।
दोस्रो वर्षको परीक्षा सकेर म छोरीलाई लिन सप्तरी गएँ। तर, पाँच महिनापछि उसलाई भेट्दा उसले मलाई चिनिनँ। त्यो क्षण म भक्कानिएर रोएँ। छोरीलाई आफूबाट टाढा राखेर पढ्दा दुःख लागे पनि रिजल्ट भने राम्रो भयो र म स्नातकोत्तरमा प्रथम श्रेणीमा उत्तीर्ण भएँ।
चार वर्षपछि हाम्रो दोस्रो सन्तान जन्मियो। पढाइ सकेर काम गर्छु भन्दाभन्दै गर्भ बसेछ। त्यही बेला श्रीमान्लाई जापानमा पीएचडी गर्न छात्रवृत्ति मिल्यो। म पनि पाँच महिनाकी गर्भवती छँदा छोरीलाई साथै लिएर उहाँसँगै गएँ।
जापानमा हामी विद्यार्थी, त्यसमाथि गर्भवती र साथमा बच्चा! निकै धपेडी भयो। भाषाको समस्या पनि उत्तिकै थियो। तर, जापानी साथीहरूले एकदमै सहयोग गर्नुभयो।
तुलनात्मक रूपमा मलाई दोस्रो पटक गर्भवती हुँदा कुनै शारीरिक समस्या भएन। खाना पनि मज्जाले रुच्थ्यो। त्यहाँको उत्कृष्ट स्वास्थ्य सेवाको अनुभव गर्ने मौका पनि पाएँ। बच्चा जन्मिएपछि कसरी स्याहार गर्ने, के गर्ने भन्ने सबै कुरा अस्पतालबाटै सिकाउने रहेछन्। दोस्रो पटक पनि श्रीमानले मलाई एकदमै हिँडाउनुभयो।
डाक्टरले तोकिदिएको समयअनुसार नै हामी तयार भएर बसेका थियौँ। अस्पताल गएको केही समयमै प्राकृतिक रूपले नै बाबु जन्मियो। श्रीमान् त्यही अस्पतालको हाडजोर्नी विभागमा पीएचडी गर्दै हुनुहुन्थ्यो। उहाँ साथमा भएपछि सबै कुरा सहज भयो।
स्तनपानमा पनि समस्या भएन। तर, बच्चा जन्मिएपछि पाठेघर खुम्चिँदा पेट भने निकै दुखेको थियो। म सुत्केरी भएको छैटौं दिनमा नेपालबाट आमा आइपुग्नुभयो र मलाई धेरै सहज भयो।
हामी जापानमा पाँच वर्ष बस्यौँ। बाबु छ महिनाको भएपछि दुवै बच्चालाई डे-केयरमा राखेर मैले त्यहाँको विश्वविद्यालयमा अर्को स्नातकोत्तर पढ्न थालेँ। बाबु साढे चार वर्षको हुँदा हामी नेपाल फर्कियौँ। जापानबाट फर्किएपछि बाबुलाई यहाँको माहौलमा, विशेषगरी खानपानमा घुलमिल हुन निकै सकस पर्यो।
नानीबाबु सँग-सँगै हुर्किए। माया पनि गर्ने, झगडा पनि गर्ने गर्दै उनीहरूको बाल्यकाल बित्यो। १८ वर्षको उमेरसम्म मैले दुवैलाई पर्याप्त समय दिएँ। अहिले दुवै जना देशबाहिर छन्।
बाबु डाक्टर भयो। जापानमा उसको बुवाले जहाँ पढ्नुभयो, त्यही ठाउँमा अहिले ‘स्पोर्ट्स सर्जरी’मा पीएचडी गर्दै छ। छोरीले बेलायतबाट अन्तर्राष्ट्रिय व्यापारमा स्नातकोत्तर गरेर अहिले डेटा इन्जिनियरका रूपमा क्यालिफोर्नियाको लस एन्जलसमा काम गरिरहेकी छे। अहिले यहाँ हामी श्रीमान्-श्रीमती मात्र छौँ। दुवैलाई धेरै सम्झिरहन्छौँ।
मेरा बुबा-आमा तथा सासु-ससुराको साथ र सहयोगले गर्दा मैले आफ्नो अमूल्य समयलाई राम्रोसँग व्यवस्थापन गर्न सकेँ। दुवै सन्तान हामीले योजना गर्नुभन्दा अगाडि नै गर्भमा आए पनि मैले हरेक क्षण रमाइलो महसुस गरेँ। दुई सुन्दर सन्तानको आमा हुन पाएँ। उनीहरू पनि असल छन्, यो सोच्दा निकै खुसी लाग्छ।
साउन १२, २०८२ सोमबार ०८:३८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।