भारत-पाकिस्तान युद्ध रोकेको भन्दै ट्रम्पले भने- ‘थाइल्याण्ड-कम्बोडिया विवाद चाँडै अन्त्य हुन्छ’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम गराउन आफूले मध्यस्थता गरे झैँ थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गराउन आफूलाई सजिलो हुने बताएका छन्।
अमेरिका र युरोपेली संघबीचको व्यापार सम्झौतापछि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा यो कुरा भनेका हुन्। यस समयमा युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयन पनि उपस्थित थिइन्।
‘हामी थाइल्याण्ड र कम्बोडियासँग व्यापार गर्छौं। तैपनि मैले पढेको छु कि उनीहरू एकअर्कामाथि आक्रमण गरिरहेका छन्... म भन्छु कि यो मेरो लागि सजिलो हुनुपर्छ किनभने मैले भारत र पाकिस्तान बीच सम्झौताको मध्यस्थता गरेको थिएँ’, ट्रम्पले भने।
उनले थपे, ‘मैले दुवै देशका प्रधानमन्त्रीहरूलाई फोन गरेर भनेको थिएँ कि जबसम्म तपाईंहरू युद्ध समाधान गर्नुहुन्न, हामी कुनै व्यापार सम्झौता गर्दैनौंँ। मलाई लाग्छ अब उनीहरू सम्झौता गर्न तयार छन्।’
व्यापार मार्फत युद्धविराम ल्याउन सकेमा यो आफ्नो लागि सम्मानको कुरा हुने ट्रम्पले बताए।
अमेरिकी राष्ट्रपतिले फेरि एक पटक भारत र पाकिस्तानबीच युद्धविराम गराउन आफूले मध्यस्थता गरेको दोहोर्याएका छन्। यद्यपि, भारतले यी दावीहरूलाई अस्वीकार गर्दै आएको छ।
भारतले पाकिस्तानको पहलपछि दुई देशबीच युद्धविराममा सहमति भएको बताएको छ।
साउन १२, २०८२ सोमबार ०७:४५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।