‘परालको आगो’बाट बाहिरिए जितु नेपाल, निर्माता भन्छन् 'आपसी समझदारीमा बाहिरिनुभयो'

काठमाडौँ : दसैँको फूलपाती अगाडिबाट छायाङ्कनमा निस्किने तयारीमा रहेको फिल्म ‘परालको आगो’बाट अभिनेता जितु नेपाल बाहिरिएका छन्। उनी फिल्ममा अनुबन्ध भएको एक महिनापछि आन्तरिक कुरा नमिलेको भन्दै उनी फिल्मबाट बाहिरिएका हुन्।
निर्माण पक्षले दसैँको छेको पारेर फिल्मको छायाङ्कन गर्न आँटेपछि जितुले घर परिवारलाई समय दिनुपर्ने र छायाङ्कनमा जान नभ्याउने भएपछि बाहिरिएको दाबी बाहिरिएको छ।
यसबारेमा जितु नेपालले उकेरासँगको कुराकानीमा आफू फिल्मबाट बाहिरिई नसकेको दाबी गरे। उनले अहिले यो छलफलको विषय नै नरहेको दाबी समेत गरे।
‘अहिले नै म फिल्मबाट बाहिरिएको छैन। तर दसैँको मुखमा नै निर्माण पक्षले फिल्मको सुटिङ थाल्यो भने म नभ्याउन सक्छु। किनभने मैले दसैँको मुखमा घर परिवारलाई समय दिनुपर्ने हुन्छ। त्यो समयमा सुटिङ नभएको खण्डमा काम गर्न सक्छु’उनले भने।
यता यस फिल्मका निर्माता सुशील पोखरेलले जितुले करिब-करिब फिल्म छोडेको बताए। उनले आपसी समझदारीमा नै जितुले फिल्म छोडेको जानकारी दिए।
जितुले फिल्म छाडेको हो भन्ने प्रश्नमा उनले भने,‘उहाँले छोड्नु भएको साँचो हो। उहाँ र हामीबिच केही दिनअघिको छलफलबाट बाहिरिनु भयो। अहिले अर्को कलाकारको खोजीमा छौँ।’
सुशील पोखरेलको निर्माणमा लक्ष्मण सुनारको निर्देशन रहने फिल्ममा अभिनेता प्रकाश सपुत र अभिनेत्री सुहाना थापा फाइनल भइसकेका छन्।
यसअघि यो फिल्मको रिलिज मिति आगामी दसैँको फूलपातीमा गर्ने भनिएको थियो। तर अहिलेसम्म यो फिल्म आन्तरिक तयारी मिलाउँदा मिलाउँदै छायाङ्कनमा जान सकेको छैन।
यो फिल्मका लागि निर्माण पक्षले ४ दशक अघिको कालजयी गीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ समावेशका लागि सर्जकसँग अनुमति समेत लिइसकेको छ।
गत जेठमा निर्माता पोखरेल सहितको टिमले सङ्गीतकार शान्ति ठटालसँग यो गीत फिल्ममा राख्न अनुमति लिएको थियो। स्रष्टा ठटालकै निवास भारतको सिलगुडी पुगी सङ्गीतकार ठटालसँग अनुमति लिएका थिए।
यो गीतमा शान्ति ठटालको सङ्गीत, मनबहादुर मुखियाको शब्द र अरुणा लामाको स्वर रहेको छ। जुन गीत ४ दशक अघि प्रदर्शनमा आएको फिल्म ‘परालकै आगो’मा समावेश गरिएको थियो।
साउन ११, २०८२ आइतबार २०:१५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।