इन्टरनेट प्रदायकमाथि असीमित वाइफाई हटस्पट सुविधा दिन रोक, प्राधिकरणले दियो कारबाहीको चेतावनी

काठमाडौं : दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको नेपाल टेलिकम र एनसेलको माग सम्बोधन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको असीमित वाइफाइ सेवामा रोक लगाएको छ। केही इन्टरनेट सेवा प्रदायकहरूले आफ्ना ग्राहकहरूलाई यस्तो सुविधा दिँदै आएका छन्।
आइतबार सूचना निकाल्दै प्राधिकरणले आधारभूत दूरसञ्चार सेवा वा मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाको अनुमति पत्र प्राप्त सेवा प्रदायकहरूले मात्र सिम नभए पनि अ सीमित वाइफाइ प्रदान गर्न सकिने भन्दै अन्यले यस्तो सेवा दिए कारबाही गर्ने चेतावनी दिएको छ।
मोबाइल र टेलिफोन सेवा उपलब्ध गराउँदै आएका दुई कम्पनीले दूरसञ्चार संस्थाको नवीकरण शुल्क उच्च भए पनि उस्तै प्रकृतिको सेवा न्यून नवीकरण शुल्क भएका इन्टरनेट सेवा प्रदायकहरूलाई दिँदा आफ्नो डेटाको व्यापारमा प्रभाव पारेको भन्दै विरोध जनाउँदै आएका थिए।
प्राधिकरणले आइतबार जारी गरेको सूचनामा दूरसञ्चार सेवा उपलब्ध गराउने अनुमति पाएकाबाहेक अन्य अनुमति पत्र प्राप्त गरेका सेवा प्रदायकहरूले प्राधिकरणको वाईफाई हटस्पट सञ्चालन सम्बन्धी विनियमावली परिभाषित गरे अनुसार निश्चित क्षेत्र वा परिधि भित्र वाईफाई हटस्पट सञ्चालन गर्न सक्ने उल्लेख गरेको छ।
एक पटकको लगइनबाट निश्चित समयावधि वा मात्राको लागि वाइफाइ हटस्पट सेवा प्रयोग गर्न सक्ने सर्तहरूको पालना गरेर मात्र वाईफाई हटस्पट सेवा सञ्चालन गर्न सक्ने सूचनामा उल्लेख छ।
सूचनामा वाईफाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी सम्बन्धी सर्त अनिवार्य रूपमा पालना गर्न समेत उल्लेख गरेको छ।
साउन ११, २०८२ आइतबार १९:२३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।