अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन सत्ताधारी दल कांग्रेस सांसदको माग, प्रमुख नेता मौन

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई विरुद्ध महाअभियोग लगाउन सत्ताधारी दल नेपाली कांग्रेसको सांसदले माग गरिन्।
नेपाल एयरलाइन्सको दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा चयनमुखी अनुसन्धान गरेर आफैंलाई जोगाएको भनेर विशेष अदालतको फैसलाको विशेष टिप्पणीमा परेका उनीमाथि छानबिन गर्न महाअभियोग लगाउन सत्ताधारी दल कांग्रेसको राष्ट्रिय सभा सदस्य कमला पन्तले माग गरिन्।
आइतबार राष्ट्रिय सभामा बोल्दै उनले आयोगले वाइडबडी खरिद निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएको भन्दै महाअभियोग लगाउन माग गरेकी हुन्।
वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अधिकांश आरोपीले सफाइ पाएको सो मुद्दाको फैसलाको पूर्णपाठमा पर्यटन मन्त्रालयको सचिवको हैसियतमा निगम सञ्चालक समितिको अध्यक्ष रहेका राईकै नेतृत्वमा बसेको बैठकको निर्णय यो खरिदको अनियमितताको प्रस्थान विन्दु भएको उल्लेख गरेको छ।
फैसलामा एकै निर्णय प्रक्रियामा संलग्न कसैलाई प्रतिवादी बनाउने त कसैलाई प्रतिवादी नबनाएर चयनमुखी अनुसन्धान गरेको भन्दै अख्तियारको अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको थियो।
विशेष अदालतको टिप्पणीसँगै राईलाई कि राजीनामा गराउन वा महाअभियोग लगाउन माग उठिरहे पनि प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस र एमालेका अधिकांश नेताहरू मौन छन्।
यस अगाडि प्रतिनिधि सभामा माओवादी केन्द्रका सांसदले राईमाथि कारबाहीको माग गरेका थिए। शुक्रवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले अदालतले नैतिक प्रश्न उठाइसकेपछि राई पदमा बसिरहन उचित नरहेको बताएका थिए। तर उनको दल माओवादी केन्द्रले पनि यो विषयलाई महत्व दिएर सार्वजनिक फोरमहरूमा उठाएको छैन।
कांग्रेस सांसद पन्तले आइतबार मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी समेत गरेकी थिइन्। उनले राज्यका प्रमुख अङ्गहरूप्रति जनविश्वास लगातार घटिरहेको बताएकी थिइन्।
उनले पोखराको १३५ रोपनी जग्गाको घुस प्रकरणमा जोडिएका मन्त्रीहरू खुलेआम हिँडिरहेको भन्दै मन्त्रीपरिषद्ले बोल्ने कि नबोल्ने भन्दै प्रश्न समेत गरेकी थिइन्।
सम्बन्धित समाचार
साउन ११, २०८२ आइतबार १८:३३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।