एक वर्षमा ३ हजार सात सय प्रहरी विरुद्ध उजुरी, एक एसएसपीसहित २ हजारमाथि कारबाही

एक वर्षमा ३ हजार सात सय प्रहरी विरुद्ध उजुरी, एक एसएसपीसहित २ हजारमाथि कारबाही

काठमाडौं : गत आर्थिक वर्षमा २ हजार भन्दा बढी प्रहरी कर्मचारीमाथि कारबाही भएको छ। प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३ हजार सात सय ५३ वटा उजुरी परेकोमा २ हजार ७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेका हुन्।

प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार कारबाही पर्नेमा सबैभन्दा बढी प्रहरी जवान छन्। एक आर्थिक वर्षमा  ९ सय २४ जना प्रहरी जवान कारबाहीमा परे। प्रहरीको जनशक्तिमा सबैभन्दा धेरै प्रहरी जवान हुन्।

एक आर्थिक वर्षमा प्रहरी सहायक हवल्दार ४ सय २०, प्रहरी हवल्दार ३ सय ४५ जना कारबाहीमा परे। यो बिचमा असई १ सय ७३,  सई ६९, वरिष्ठ हवल्दार ६०, कार्यालय सहयोगी ३९ जना कारबाहीमा परे। यसैगरी वरिष्ठ सई ९,  इन्स्पेक्टर ३०, डिएसपी ३ र  एक जना एसएसपी कारबाहीमा परे।

घिमिरेले प्रहरी विरुद्ध ३ हजार ७ सय ५३ वटा उजुरी परेकोमा ८१ प्रतिशत फर्स्यौट भएको बताए। यसमा सबैभन्दा धेरै इ–कम्प्लेन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृहमन्त्रालय, टोल फ्रि नम्बर, प्रहरी महानिरीक्षकको सचिवालय, प्रधानमन्त्रीको कार्यालय, हेलो सरकार, राष्ट्रिय सतकर्ता केन्द्र र हुलाक तथा व्यक्तिगत उजुरीहरू रहेका छन्।

साउन ११, २०८२ आइतबार १७:४९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।