पोखराको १३५ रोपनी जग्गा प्रकरणमा जोडिएकी रञ्जिता नाउपाको दैनिक कामबाट अलग, बास्तोला कार्यवाहक अध्यक्ष

काठमाडौं : पोखरामा रहेको एक सय ३५ रोपनीको लिची बगैँचा घुस काण्डमा परेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पार्टीको कामबाट अलग भएकी छिन्। सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमिसुधारमन्त्री बलराम अधिकारीसँगै रञ्जिता समेत अदालतको आदेशबाट व्यक्तिको नाममा ल्याउनुपर्ने जग्गा दर्ताको चलखेलमा जोडिएकी थिइन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनलाई सो प्रकरणमा बयान लिएपछि उनले आइतबार स्वास्थ्यको कारण देखाउँदै पार्टीका वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छिन्।
गुप्तासँग मिलेर सो जग्गा मिलाउन सक्रिय रहेको समूहसँग पैसा लिएको अडियो र च्याट सार्वजनिक भएपछि पार्टीको नेतृत्व छाड्न उनीमाथि दबाब बढेको थियो। शुक्रवार पार्टीका बहुमत केन्द्रीय सदस्यहरूको २४ घण्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अल्टिमेटम दिएपछि उनले कार्यवाहक तोकेर पार्टीको दैनिक कामबाट अलग बसेकी हुन्।
तत्कालीन मन्त्री गुप्तासहित तीन जना जग्गा प्रकरण र त्यसको लेनदेनबारे भएको कुराकानी बाहिरिँदाको महिला रञ्जिता भएको खुलेको थियो। उनले सो आवाज आफ्नो नभएको भनेर खण्डन समेत गर्न सकेकी थिइनन्। यही बिचमा उनले जग्गामा संलग्न समूहका व्यक्तिसँग पैसा माग्दै पठाएको टेक्स्ट समेत बाहिरियो।
त्यसपछि उनकै श्रीमान् तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले समेत यो प्रकरणमा रञ्जिताको भूमिकाबारे प्रश्न उठाउँदै जानकारी दिन माग गरेका थिए।
आरोपी मन्त्री अधिकारी पदमै
अख्तियारले पोखराको जग्गा प्रकरणमा तत्कालीन मन्त्री गुप्तासँगै रञ्जिता र सुजन लामासँग बयान लिने र अडियोको परीक्षण गर्ने काम गरिरहेको छ। सो प्रकरणमा मन्त्री अधिकारी र उनको छोरा समेत जोडिए पनि उनी भने अझै मन्त्री पदमै कायम छन्।
उनले जग्गा मिलाउने भन्दै ३२ लाख लिएको अडियो सार्वजनिक भइसकेको छ। तर उनले आफू संलग्न नभएको र चरित्र हत्याको प्रयास भएको दाबी गर्दै आएका छन्। यसमा भूमिसुधारका तत्कालीन सचिव समेत जोडिएका छन्। उनीहरुलाई अख्तियारले औपचारिक रुपमा अनुसन्धानको दायरामा ल्याएको छैन।
सम्बन्धित समाचार
साउन ११, २०८२ आइतबार १६:०९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।