आठ दिनपछि घट्यो सेयर बजार, कारोबार रकम बढेर २६ अर्ब नाघ्यो

काठमाडौं : पछिल्ला ८ दिनको कारोबार निरन्तर बढिरहेको नेप्सेमा साताको पहिलो दिन आइतबारको कारोबारमा नेप्से परिसूचक १८.४४ अंक घटेर २९६४.२० विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ३.२६ अंक घट्यो। फ्लोट इन्डेक्स १.४५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०६ अंक घट्यो।
आइतबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढ्यो भने ८ उपसमूहको परिसूचक घट्यो। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढ्यो। विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढ्यो। वित्त, होटेल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घट्यो।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने २६ अर्ब ४२ करोड १८ लाख पुग्यो। आइतबार ५ करोड ८३ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भयो। बिहीबार करिब साढे १८ अर्बको शेयर खरिदबिक्री भएको थियो।
आइतबारको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्था, ट्रेड टावर र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढ्यो। नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ६.३४ प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा आइतबार शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो। कम्पनीको १ अर्ब २ करोड ३ लाख ३५ हजार रुपैयाँबराबरको शेयर किनबेच भयो। ङादी ग्रुप पावरको करिब ८९ करोड रुपैयाँको सेयर कारोबार भयो। नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम ८५ करोड नाघ्यो।
साउन ११, २०८२ आइतबार १५:५६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।