मेलापात गर्दागर्दै करोडपति बनेकी पार्वती

काठमाडौं : ‘जीवनभर ऋण तिर्नैमा बित्ला जस्तो लाग्थ्यो, अब त केही गर्न सकिन्छ कि भन्ने लागेको छ’ धादिङको गङ्गाजमुना गाउँपालिका-६ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले यो भनाइसँगै हाँसो र आँसु एकसाथ मिसाइन। विगत केही वर्षदेखि भोगेको पीडा, संघर्ष र अप्ठ्यारोका बीच उनी एकाएक करोडपति बनेकी छन्। त्यो पनि सीमकार्डले ल्याएको असाधारण भाग्यले।
साउन २ गते, शुक्रबार। बिहान मेलापात जानुअघि घरधन्दा सकेर पार्वतीले मोबाइल घरमै छाडिन्। किनभने, फोन गर्ने को नै थियो र ? श्रीमान् विदेशमा थिए, छोरा काठमाडौंमा पढ्दै थिए- उनीहरूसँग बिहान/साँझ कुरा हुन्थ्यो।
तर जब मेलापात सकेर फर्किन्, मोबाइलमा अन्जान नम्बरबाट मिस्डकल आएको थियो। केहीबेरपछि फेरि फोन आयो। पार्वतीले उठाइन्। फोन एनसेलको केन्द्रीय कार्यालयबाट थियो। परिचय सोधियो, उत्तर दिएपछि सोमबार काठमाडौं आउन भनियो। कारण भने खुलाइएको थिएन- ‘तपाईंलाई उपहार परेको छ। तर अहिल्यै केही भन्न मिल्दैन।’
पार्वती अलमलिइन्। सुरुमा त घरका कसैलाई विश्वासै लागेन। कतै ठगी हो कि भन्ने शंका भयो। तर देवरको सल्लाहपछि उनी आइतबारै काठमाडौं आइन्। छोरा र देवरलाई साथ लिएर सोमबार बिहान लैनचौरस्थित एनसेल कार्यालय पुगिन्।
‘के पुरस्कार हो भन्ने मलाई थाहै थिएन’ पार्वती सम्झिन्छिन्, ‘तर जब कागजपत्र जाँचिएपछि भनियो- तपाईंलाई एक करोड रुपैयाँ परेको छ, मलाई विश्वास नै लागेन।’
सात/आठ वर्षअघि आरुघाट बजारबाट किनिएको सीमकार्ड र बेला-बेलामा प्रयोग गरिने एनसेलको ‘९९ को प्याक’ले जीवनमा यस्तो मोड ल्याउनेछ भन्ने उनले कहिल्यै सोचेकै थिइनन्।
पार्वतीको जीवन सजिलो थिएन। श्रीमान् विदेशमा, आफू गाउँमा महिला स्वयंसेविकाको रूपमा सानो भत्ता पाउने। अरु आम्दानीको भर खेतीपाती र तरकारीमा।
२०७२ सालको भूकम्पले मात्रै होइन, जीवनले पटक-पटक हल्लायो उनलाई। भूकम्पमा नयाँ घर ढल्यो, एक महिना दुई दिनको कान्छो छोरालाई गुमाइन्। आर्थिक अवस्था कमजोर। श्रीमान् विदेशमा बिरामी। उपचारको लागि पैसा थिएन। ऋण बढ्दै थियो।
एकचोटि काठमाडौंमा ऋण लिएर खोलेको पसल पनि डुब्यो। नौ लाख लगानी गरेर सुरु गरेको पसल ६० हजारमै बेच्नुपर्यो। श्रीमान् फेरि विदेशिए, दुई वर्ष भयो फर्किन पाएका छैनन्।
एनसेलबाट पाएको एक करोड रुपैयाँमध्ये कर कटाएर करिब ७५ लाख पार्वतीको खातामा जम्मा भइसकेको छ। ‘पहिलो काम, ऋण तिर्छु,’ उनी भन्छिन्, ‘अब बिरामी श्रीमानको पसिना बेचेको पैसाले ब्याज तिर्नु पर्दैन।’
त्यसपछि बाँकी रकमले श्रीमानलाई देशमै राखेर सँगै केही सानो उद्यम सुरू गर्ने सोच बनाएकी छन्। छोराको उच्च शिक्षा पनि ध्यानमा छ। ‘अब श्रीमानलाई नेपालमै बोलाएर दुबै जना मिलेर केही काम गर्छौं,’ पार्वतीको योजना छ, ‘त्यो एक करोडले मलाई राहत मात्र होइन, आत्मविश्वास पनि दिएको छ।’
साउन ११, २०८२ आइतबार १४:४५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।