बुद्धको शिक्षालाई व्यवहारमा उतारेर अन्तर्राष्ट्रिय कुटनीतिमा नयाँ आयाम ल्याउन सकिन्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धको शिक्षालाई व्यवहारमा उतारेर अन्तर्राष्ट्रिय कुटनीति र विश्व शान्तिमा नयाँ आयाम ल्याउन सकिने बताएका छन्।
आइतबार लुम्बिनीमा आयोजित ‘कुटनीति र बुद्धका शिक्षा : विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठी उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आजको विश्वले संवाद, सहयोग र मित्रताको बाटो रोज्न बुद्धका शिक्षाबाट प्रेरणा लिनुपर्ने आवश्यकता औंल्याए।
‘बुद्धका शिक्षामा द्वन्द्व होइन संवाद, प्रतिस्पर्धा होइन सहयोग, द्वेष होइन मित्रताको मूल्यमान्यता छ,’ उनले भने, ‘यी शिक्षालाई व्यवहारिक कुटनीतिमा रूपान्तरण गर्नु आजको आवश्यकता हो।’
मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केवल धार्मिक स्थल होइन, मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने बताए। उनले अन्तर्राष्ट्रिय संगोष्ठीहरू जस्तै कार्यक्रममार्फत लुम्बिनीको कूटनीतिक महत्व अझ फैलने विश्वास व्यक्त गरे।
नेपाल-भारत सम्बन्धलाई ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपमा गहिरो बताउँदै उनले साझा धर्म, दर्शन, लिपि र परम्पराको माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ सुदृढ गर्न शिक्षा, अनुसन्धान र सांस्कृतिक सहकार्यलाई बल दिन सकिने बताए।
प्रदेश सरकारले अगाडि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएका बौद्ध सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे। साथै उनले ‘नेपाल-भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’, ‘बुद्ध सर्किट’ अन्तर्गत एकीकृत पर्यटन कार्यक्रम, अनुसन्धान केन्द्र, संग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलनका सम्भावनातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
कार्यक्रममा भारत, नेपालसहित अन्य देशका विश्वविद्यालयका उपकुलपति, बौद्ध चिन्तक, कूटनीतिज्ञ, भिक्षु, भिक्षुणी तथा बौद्ध अध्येता सहभागी थिए।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षामा नैतिकताको खाँचो औंल्याउँदै बुद्धका शिक्षाले त्यसलाई पूरा गर्न सघाउने बताए। भारतीय विद्वान प्रा. अभयकुमार सिंहले 'कुटनीति र बुद्धका शिक्षाको मार्गदर्शन' शीर्षकमा मन्तव्य दिएका थिए।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल ब्रजाचार्यको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रममा काठमाडौँ, सुदूरपश्चिम, संस्कृत, सिद्धार्थ (भारत) विश्वविद्यालयका उपकुलपति, पूर्वराजदूतहरू प्रा.डा. लोकराज बराल र दीपकुमार उपाध्यायलगायत वक्ताहरूले बुद्धको शिक्षाबाट विश्व शान्तिमा योगदान पुर्याउन सकिने धारणा राखे।
कार्यक्रममा नेपाल र भारतका विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयबीच शैक्षिक सहकार्यसम्बन्धी सम्झौतासमेत गरिएको छ।
कार्यक्रमको सहजीकरण अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले गरेका थिए भने डीन डा. मणिकरत्न शाक्यले धन्यवाद ज्ञापन गरे। विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलका अनुसार दुई दिन चल्ने यो संगोष्ठीमा एक दर्जन अन्तर्राष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने छन्।
साउन ११, २०८२ आइतबार १४:१३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।