आन्तरिक पर्यटनको लोकप्रिय गन्तव्य बन्यो ढोरपाटन, एक वर्षमै २३ हजार पर्यटक पुगे

आन्तरिक पर्यटनको लोकप्रिय गन्तव्य बन्यो ढोरपाटन, एक वर्षमै २३ हजार पर्यटक पुगे

बागलुङ : नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा घुम्न आउने पर्यटकको सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा छ। ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २३ हजार ६९२ पर्यटक ढोरपाटन पुगेका छन्। अघिल्लो वर्ष १५ हजार ५७३ पर्यटक पुगेका थिए।

रेञ्जर सागर सुवेदीका अनुसार एकै वर्षमा झण्डै आठ हजारले पर्यटकको सङ्ख्या बढेको हो। तीमध्ये १२ जना सार्क मुलुकका र २१३ जना अन्य विदेशी पर्यटक थिए भने बाँकी सबै आन्तरिक पर्यटक हुन्।

सुवेदीका अनुसार प्रचारप्रसार, पदयात्रा गन्तव्यको विकास, पर्यटकीय पूर्वाधारको विस्तार, साथै बुकी र जलजला क्षेत्रको आकर्षण बढेपछि आन्तरिक पर्यटकको चाप उल्लेख्य रूपमा बढेको हो। पर्यटनको चापसँगै राजस्व पनि वृद्धि भएको छ। नेपाली पर्यटकबाट मात्र प्रवेश शुल्कबापत गत वर्ष २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको उनले जानकारी दिए।

‘बुकी, जलजला, निशेलढोर, ढोरबराह मन्दिरलगायत स्थानको प्रचार र सहज होम स्टे व्यवस्थाका कारण आन्तरिक पर्यटक बढेका हुन्,’ सुवेदीले भने।

पहिले विदेशी पर्यटक सिकार खेल्न मात्र आउने गर्थे। तर अहिले सिकार आरक्ष क्षेत्रको अवलोकन, उपत्यकाको प्राकृतिक सौन्दर्य, धार्मिकस्थल भ्रमण र पदयात्राको उद्देश्यले आन्तरिक पर्यटक झन् बढी आउने गरेका छन्।

ढोरपाटन सामुदायिक होम स्टे सञ्चालक रामबहादुर घर्तीका अनुसार अहिले ढोरपाटन उपत्यकामा दुई दर्जनभन्दा बढी होटल तथा होम स्टे सञ्चालनमा छन्। पोखराबाट सीधै ढोरपाटन जाने प्याकेज पनि लोकप्रिय बनेको छ।

समुद्री सतहदेखि करिब २,९०० मिटरको उचाइमा रहेको ढोरपाटन उपत्यकादेखि चार हजार मिटरभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने गरेका छन्। लगातार बढ्दो पर्यटनले ढोरपाटन क्षेत्रलाई आन्तरिक पर्यटनको लोकप्रिय गन्तव्य बनाइरहेको छ।

साउन ११, २०८२ आइतबार १३:३०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।