चिर्पटले हानेर श्रीमतीको हत्या गर्ने आर्मीका पूर्व अमलदार पक्राउ

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलाका ४२ वर्षीय दानसिंह ठाडाले शनिबार राति ४१ वर्षीया श्रीमती रविना थापाको चिर्पटले हानेर विभत्सव हत्या गरेका छन्।
ठाडाले राति २ बजे सुतेको बेला चिर्पटले हानेर हत्या गरेपछि २ बजे उनलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
आरोपित ठाडाविरुद्ध मृतकका दाइले आइतबार जिल्ला प्रहरी कार्यालयमा हत्याको जाहेरी दिएका छन्। शवको पोष्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेतमा लिइएको छ। आरोपित ठाडा नेपाल आर्मीको अलमदारबाट अवकाश प्राप्त व्यक्ति हुन्। मृतकका एक छोरा तीन छोरी छन्। छोरा रोजगारीका लागि दुबई र जेठी छोरी जापानमा छन्। माइली छोरीको सुर्खेत र कान्छीको विवाह दैलेखमा भएको छ।
‘श्रीमतीको हत्या गरेपछि स्थानीयले प्रहरीलाई खबर गरे त्यसपछि अस्थायी प्रहरी पोष्ट करेखोलाको टोलीले पक्राउ गर्यो। अहिले घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ’, डिएसपी बुढथापाले भने। परिवारका अनुसार आरोपित ठाडा मानसिक रोगी रहेको र उनले औषधी सेवन गरिरहेका थिए।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्कअनुसार प्रदेशका १० जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा आफन्त वा परिवारका सदस्यबाट ४१ जनाको हत्या भएको छ। आर्थिक वर्ष २०७९/८० मा १०, २०८०/८१ मा २२ र २०८१/८२ को असारसम्म नौ हत्या परिवार र आफन्तबाटै भएका छन्।
आ.व. २०७९/८० मा श्रीमानद्वारा श्रीमतीको हत्याका नौ, आ.व. २०८०/८१ मा नौ र आ.व. २०८१/८२ मा चार घटना छन्। श्रीमतीद्वारा श्रीमानको हत्या आ.व. २०८०/८१ मा दुई र आ.व. २०८१/८२ मा एक घटना छन्। यी तीन वर्षमा भाइद्वारा दाजुको हत्या दुई, बुवाद्वारा छोराको हत्या तीन, छोराद्वारा बुवाको हत्या दुई घटना रहेका छन्।
यसबाहेक सौतेनी आमाद्वारा छोरीको हत्या, भाउजुद्वारा देवरको हत्या, देउरानीद्वारा जेठानीको हत्या, भेनाजुद्वारा सालाको हत्या, मामाद्वारा भान्जाको हत्या, जेठाजुद्वारा बुहारीको हत्या, छोराद्वारा आमाको हत्या, बुहारीद्वारा सासुको हत्या र आमाद्वारा छोरीको हत्याका घटना रहेका छन्।
तथ्याङ्क हेर्दा श्रीमानद्वारा श्रीमतीको हत्याको संख्या बढी देखिन्छ। आमाबाट छोरीको हत्या, छोराबाट आमाको हत्याजस्ता हृदयविदारक घटनाहरू पनि तथ्याङ्कमा देखिन्छ।
साउन ११, २०८२ आइतबार ११:००:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।