मितेरी पुल बाढीले बगाएपछि रसुवागढीमा बेलीब्रिज बनाउँदै चीन, भदौ भित्रै सम्पन्न गर्ने लक्ष्य

मितेरी पुल बाढीले बगाएपछि रसुवागढीमा बेलीब्रिज बनाउँदै चीन, भदौ भित्रै सम्पन्न गर्ने लक्ष्य
File Photo

रसुवा : नेपाल-चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुवात भएको छ। गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको थियो। चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। 

 उनका अनुसार नेपाल-चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरण अन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ। यसका लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ। 

पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिए। पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ।

चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साविक सतहमा लाने काम अगाडि बढाइसकेको छ।

बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने  चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिए। रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ।

साउन ११, २०८२ आइतबार ०९:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।