रौतहटका मुस्लिम समुदायले वर्षाका लागि गरे प्रार्थना

रौतहटका मुस्लिम समुदायले वर्षाका लागि गरे प्रार्थना

रौतहट : रौतहटका मुस्लिम समुदायले वर्षाका लागि  इस्तिस्का (पानीको प्रार्थना) गर्दै  नमाज पढ्न थालेका छन्। परोहा नगरपालिका र गुजरा नगरपालिका लगायतका मुस्लिम समुदायले वर्षाको लागी भगवान (अल्लाह) समक्ष पानीको माग गर्दै प्रार्थना गरेका हुन।

 रौतहट सहित मधेस प्रदेशमा खडेरीको चपेटा र चापाकल सुकेर जल संकट गहिरिँदै गएका बेला उनीहरुले धार्मिक परम्पराअनुसार इस्तिस्का नामाज  अदा गरेको स्थानीय इस्तिका अहमदले बताए। इस्तिस्का नामाज अदामा मुस्लिम समुदायका  वृद्धदेखि युवासम्म सहभागी भएको उनको भनाइ छ। 

लामो समयसम्म पानी नपरेपछि मुस्लिम समुदायले सामूहिक रूपमा इस्तिस्का नामाज पढ्ने धार्मिक परम्परा रहेको समेत उनले उल्लेख गरेका छन्।

 उनका अनुसार प्रार्थनाका बेलामा सबैले निःस्वार्थ मनले हात उठाएर अल्लाहसग क्षमा माग गर्दै रक्षाको कामना गरिन्छ। खडेरी (जल संकट) ले जिव–जनावर, रुख–बिरुवा र खेतीबाली सुक्दै गएको र पिउने पानीसम्म अभाव हुन थालेपछि विशेष नमाज अदा गर्दै अल्लाहसँग बारम्बार दुवा गरेको उनको भनाइ छ। धार्मिक परम्पराअनुसार, लामो समयसम्म पानी नपरेपछि मुस्लिम समुदायले सामूहिक रूपमा इस्तिस्का नामाज पढ्ने गर्छन्। 

यो धार्मिक र सांस्कृतिक अभ्यास मुलुकमा पानीको अभाव र सुख्खा परेका बेला भगवान (अल्लाह) समक्ष पानीको माग गर्ने गरिन्छ। यो प्रार्थना शान्तिपूर्ण र श्रद्धापूर्वक हुन्छ।

साउन ११, २०८२ आइतबार ०८:५९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।