राम्रा विकास आयोजनाका लागि बजेटको अभाव नहुने अर्थमन्त्रीको दाबी

राम्रा विकास आयोजनाका लागि बजेटको अभाव नहुने अर्थमन्त्रीको दाबी

लुम्बिनी : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नियम, कानुन र प्रक्रियागत जटिलता फुकाउन केही ढिला भए पनि विकासको काम अघि बढ्ने बताए।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाअन्तर्गत सञ्चालित विभिन्न विकास आयोजनाको निरीक्षण गर्दै उपप्रधानमन्त्री पौडेलले बुटवलको विकास निर्माणका लागि राम्रा योजना ल्याए बजेटको अभाव नहुने बताए।

उनले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा सञ्चालित विकास आयोजनाको कार्यान्वयन र गुणस्तरीयताका विषयमा शुक्रवारदेखि निरीक्षणमा छन्।

पौडेलले शनिवार बुटवल उपमहानगरपालिका–१२, १३ र १५ मा सञ्चालित विभिन्न विकास आयोजनाको निरीक्षण गरेका थिए। त्यस क्रममा बुटवल उपमहानगरपालिका–१३ स्थित प्रदेश सरकारअन्तर्गत निर्माण हुने उजिर सिंह रङ्गशालाको निरीक्षण गरेर स्थानीयसँग छलफल समेत गरेका थिए।

‘बुटवललाई अब धुलो–हिलोमुक्त सडक बनाउने अभियान थाल्छौँ, त्यसका लागि बजेटको चिन्ता गर्नु पर्दैन। यहाँ सञ्चालित विकास–निर्माणका काममा जनस्तरबाट गुणस्तर, काममा ढिलाइ र प्राविधिक अनुगमन भए-नभएका विषयमा नागरिक निगरानी हुनु जरुरी छ’ उनले भने।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्ले गत फागुन ६ गते गरेको निर्णयअनुसार उक्त आयोजना युवा तथा खेलकुद मन्त्रालयबाट प्रदेश पूर्वाधार विकास प्राधिकरणमा हस्तान्तरण गरी ठेक्का प्रक्रिया अघि बढाइएको छ।

आयोजनाको कुल लागत अनुमान ५३ करोड रुपैयाँ रहेको छ। आयोजना दुई चरणमा कार्यान्वयन गर्न हाल पहिलो चरणअन्तर्गत १० करोड ७६ लाख लागतसहित ‘टेन्डर’ स्वीकृत भएको आयोजनाका इन्जिनियर शङ्कर सुवेदीले जानकारी दिए।

आयोजनाअन्तर्गत रङ्गशालामा भिलिएनसहितको फुटबल स्टेडियम, मल्टिप्रपोज कभर्डहल, स्विमिङ पुल, क्यान्टिन, पार्किङ, बाल उद्यान निर्माण गरिने उनले बताए।

त्यस अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जनचाहनाअनुसार बुटवलको विकासमा जनतासँग सहकार्य गरेर अघि बढ्ने बताए।

पौडेलले आजै बुटवल- १५ स्थित कर्साघाटामा निर्माण प्रस्ताव गरिएको कृषिउपज केन्द्र क्षेत्रको अवलोकन गरेका थिए। चालु आर्थिक वर्षमा कृषिउपज केन्द्रका लागि जग्गा प्राप्ति गरेर भौतिक पूर्वाधार निर्माणका काम अघि बढाइने लक्ष्य रहेको छ। यसका लागि चार अर्बभन्दा बढी लगानी हुने जनाइएको छ। पौडेलले वडा नम्बर १५ मा निर्माणाधीन बुटवल तामनगर–फर्साटिकर सडक, नयाँगाउँ खानेपानी आयोजना, बुटवल–१३ को सेवा पथ, बेलवास–झोलुङ्गेपुल सडकलगायतको निरीक्षण गरेका थिए।

साउन १०, २०८२ शनिबार २२:२३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।