चोरेर अमेरिका पुर्याइएका पाँच सय वर्ष पुरानो थाङका महाविहारलाई दिइयो

चोरेर अमेरिका पुर्याइएका पाँच सय वर्ष पुरानो थाङका महाविहारलाई दिइयो

काठमाडौँ : अमेरिकाबाट फिर्ता ल्याइएका तीनवटा प्राचीन सम्पदा  पुनः स्थापनका लागि इतुम्बहालस्थित भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरिएको छ। राष्ट्रिय सङ्ग्रहालयले शनिवार हस्तान्तरण गरेको हो।    

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, सङ्ग्रहालय प्रमुख अरुणा नकर्मीले महाविहार संरक्षण समाजलाई ती प्राचीन कलाकृति हस्तान्तरण गरेका थिए। 

हस्तान्तरण अघि सङ्ग्रहालय प्रमुख नकर्मी र समाजका अध्यक्ष प्रज्ञारत्न शाक्य, उपाध्यक्ष रमेशमान शाक्य, सचिव रत्नसम्भव शाक्य र काठमाडौँ महानगरपालिका–२४ का सदस्य रत्नाकर बज्राचार्यले हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

यसरी फिर्ता गरिएका कलाकृति (थाङ्का)मा ३ सय वर्ष पुरानो चिन्तामणि लोकेश्वर, ५ सय ७५ वर्ष पुरानो गगनसिंह भारोया र उनकी पत्नीसहितको थाङ्का (पौभा) र ३ सय २१ वर्ष पुरानो केशचन्द्रसहितको भैरव छन्।

यो कलाकृति २०३७ साल भदौ २९ गते चोरी भएको थियो। चोरिएको कलाकृति अमेरिका पुर्याइएको पत्ता लागेपछि आवश्यक समन्वय गरी फिर्ता ल्याइएको थियो।    

उक्त कलाकृति ४५ वर्षपछि गत फागुन १९ गते नेपाल ल्याएर राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो। शनिवार सोही कलाकृति उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरिएको हो।

विसं २०३७ अघिसम्म गुँला पर्वका बेला १५ दिनसम्म यस महाविहारमा उक्त कलाकृति प्रदर्शन गरिन्थ्यो। अमेरिकाको नेवा: गुठीका अध्यक्ष विजयमान सिंह तथा पुरातत्त्व विभागसँगको समन्वयमा उक्त पौभा चित्र फिर्ता ल्याइएको जनाइएको छ।

कलाप्रेमी स्टेफन एककार्डले सिकागोस्थित आर्ट इन्स्टिच्युट अफ सिकागोमा यी पौभाः प्रदर्शनीमा राखेको देखेपछि उनले नै जानकारी दिएका थिए। सोही आधारमा ती पौभाः चोरी भएर सिकागो पुगेको सन् २००३ मा पुष्टि भएकामा दुई दशक लामो प्रयासबाट नेपाल फिर्ता ल्याउन सफल भइएको सङ्ग्रहालयले जनाएको छ।

-रासस

साउन १०, २०८२ शनिबार २०:३३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।