एनपिएल पहिलो सिजनको आर्थिक विवरण सार्वजनिक नगरी दोस्रो सिजनको तयारी, अक्सन साउन २४ मा

काठमाडौं : नेपाल क्रिकेट संघले आर्थिक अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगहुँदै राष्ट्रिय खेलकुद परिषद्ले अनुसन्धान गरिरहेको नेपाल प्रिमियर लिग पहिलो सिजनको आम्दानी र खर्च अझैँ सार्वजनिक गरेको छैन। पहिलो सिजनमा आएका प्रायोजकसँगको सहमति, टिकट विक्री लगायतबाट भएको आम्दानी र खर्च क्यानले सार्वजनिक गरेको छैन।
राखेपको छानबिन समितीले एनपिएल पहिलो सिजनबारे परेको उजुरीको अनुसन्धानकोक्रममा क्यानसँग मागेको प्रमाणहरु उपलब्ध नगराएपछि निष्कर्षहिन प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदन अहिले राखेपमा छ। राखेपबाट खेलकुद मन्त्रालय पुगेपछि प्रतिवेदन अख्तियारमा बुझाउने मन्त्रालय स्रोतले जानकारी दियो।
पहिलो सिजनमा विदेशी व्यवस्थापकदेखि लिएर भएका टेण्डर र लाइभ प्रशारण अधिकारीको ठेक्कामा अनियमितता भएको र कम्पनीलाई नेपालको कानुन विपरित भुक्तानी गरेको विषयमा क्यानका सचिव पारस खड्का शंकाको घेरामा छन्।
पहिलो सिजनको विवरण सार्वजनिक नगरे पनि क्यानले एनपिएलको दोस्रो सिजनका लागि खेलाडी दर्ता गराएर अक्सनको मिति समेत तोकिसकेको छ। क्यानले शनिवार जारी प्रेस विज्ञप्तिमा एनपिएलका लागि ४ सय ५८ खेलाडीको नाम दर्ता भएको र साउन २४ मा आठ वटा टिमबीच अक्सन गरिने उल्लेख छ।
क्यानले दर्ता भएको खेलाडीहरूको नाम ८ फ्रेन्चाइजी टोलीलाई पठाइसकेको जानकारी दिएको छ। एनपिएलमा सहभागी रहने ८ टोलीले इच्छाएको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी रहने खेलाडीको अन्तिम सुची केही दिनमा जारी गरिने क्यानले जानकारी दिएको छ।
साउन १०, २०८२ शनिबार १९:२९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।